चितवन । यहाँको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । याे स्थानमा अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो ।
भण्डारण गृह बनाउन राप्ती नगरपालिका-१ मा २३ विगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन र मकवानपुर जोड्ने लोथर पुलबाट ७०० मिटर पश्चिम लोथर खोलाको बाँध सम्म नियमले जग्गा लिएको हो ।
नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको सहकार्यमा १५ अर्ब रुपैयाँ लगानीमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप लाइन तथा भण्डारण गृह निर्माण गरिँदै छ । आयल निगमले १० अर्ब रुपैयाँ र इन्डियन आयल कर्पोरेशनले पाँच अर्ब रुपैयाँ लगानी गरेर परियोजना सम्पन्न गर्न लागिएको हो । जग्गा खरिदमा ६० करोड रुपैयाँ खर्च भइसकेको छभने १० करोड रुपैयाँमा थप जग्गा खरिद प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।
आधुनिक प्रविधिबाट ग्रिनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो । ६२ किलोमिटर लामो पाइपलाइन निर्माण गरी जुनसुकै बेला तीन हजार २०० किलोलिटर इन्धन क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइप लाइन बनाउन लागिएको हो । तीन वर्षभित्रमा काम सक्ने जनाइएको छ ।
याे भण्डारण गृह निर्माण गर्दा लोथर खोला र राप्ती नदीमा बलियो तटबन्धन निर्माण हुने स्थानीयवासीले आशा गरेका छन् । यससँगै रोजगारी प्राप्त हुने र व्यवसाय सञ्चालन गर्न सकिने उनीहरुको विश्वास छ । स्थानीय यमनाथ भट्ट भण्डारण गृह बनेसँगै बाढीको जोखिम घट्ने, रोजगारी पाइने र व्यवसाय चल्नेमा विश्वस्त छन् ।
