काठमाडौं । बर्खास्तगीमा परेका राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीले आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
गिरीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पदबाट हटाएका थिए । आज (आइतबार) उनले केही नेताहरुसहित निर्वाचन आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् ।
नेता गिरीले पार्टीको विधान विपरीत पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई क्रमशः निलम्बन गर्ने वा पदमुक्त गर्ने प्रक्रिया शृङ्खला पार्टीभित्र चलेको र सो प्रक्रिया गलत रहेको बताए । उनले आफूमाथि अन्याय भएकाले आयोगलाई गुहार्न आएको बताए ।
‘मलाई अन्याय भएको हुनाले मेरो राजनीतिक जीवनमा उतारचढाव आउन सक्ने र मेरो जीवनभरको पार्टीप्रति लगानीलाई धुमिल गर्न खोज्नुभएको कारणले निर्वाचन आयोगमा म प्रति गरेको अन्यायको निवेदन दिएको छु,’– उनले भने ।
