लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति

सर्लाही। दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएको छ। लक्ष्मीपूजाको रात परेका आगलागीमा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

लालबन्दी नगरपालिका – ५ मेजरगन्जमा राति साढे ११ बजेतिर कैलाश साहको किराना गोदाममा आगलागी भएको हो। जस्ताले छाएको इँटाको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो।

नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको थियो। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट दुई करोड रुपैयाँ बराबरको किराना सामान जलेर नष्ट भएको लालबन्दी प्रहरीले जनाएको छ। मैनबत्तीबाट आगो सल्किएको आशंका गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भने भएको छैन।

त्यस्तै, कविलासी नगरपालिका१, पिपरियामा बब्लु मण्डलको घरमा दीपावलीको दियोबाट आगलागी हुँदा घर र सरसामान जलेर करिब चार लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पचगछियाले जनाएको छ।

यस्तै, चक्रघट्टा गाउँपालिका५ का श्यामसुन्दर रायको घरमा विद्युत सर्ट भएर लागेको आगोले कपडा, पंखा र केही नगद जलेर करिब ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

तीनै ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीको समयमै सक्रियताका कारण ठूलो जनधन क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *