काठमाडौं। रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
असार २४ गतेदेखि बुधबारसम्म कर्मचारीहरुसँग सम्पर्क हुन नसकेको भन्दै गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले विज्ञप्ति जारी गरेका छन्।
सम्पर्कविहीन हुनेमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौँ हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अन्य कर्मचारी शिव कुमार वली र प्रदीप केसी रहेका छन्।
गाउँपालिकामा रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले असार २३ गते राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोडको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गरेका थिए।
असार २४ गते बिहान ७ बजेदेखि हालसम्म उनीहरु सम्पर्कमा नआएको र खोजतलास गर्दासमेत नभेटिएको विज्ञप्तिमा उल्लेख छ।
