गुल्मी । रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ।
सो वडाका सर्वदलीय र सर्वपक्षीय बैठकमा सबैले सहमति जनाएपछि सो परियोजना सुरु गर्ने निर्णय गरिएको सो वडाका वडाध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए।
वडाध्यक्ष पन्थीले अर्जुन क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल मात्र नभई, हावाद्वारा ऊर्जा उत्पादनको उपयुक्त केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताए।
उनले दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा सिफारिस गरिसकेको र हाल ऊर्जा मन्त्रालयले सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाएको जानकारी दिए।
अर्जुनबाट उनायचौर सवस्टेशनको दुरी करिब ८०० मिटर मात्र भएकाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिक्री गर्न सकिने बताइएको छ।
उक्त परियोजनाबाट दैनिक आठ हजार, मासिक दुई लाख ४० हजार र वार्षिक २८ लाख ८० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रारम्भिक अनुमान छ।
आयोजनाको प्रारम्भिक चरणका लागि एक करोड ५० लाख रुपैयाँ लगानीमा सम्भाव्यता अध्ययन तथा आवश्यक प्रारम्भिक संरचना तयार गर्ने योजना छ। सो लगानीमा वडावासीलाई सेयरमार्फत सहभागी गराइने र बाँकी बजेट प्रदेश, सङ्घ र वैकल्पिक ऊर्जा केन्द्रबाट समन्वय गरी जुटाइने बताइएको छ।
वडाका सम्पूर्ण जनप्रतिनिधिहरूले योजना उपयुक्त रहेकाले ऐक्यबद्धता जनाएका छन्। चालु आर्थिक वर्षमा सो वडामा नगरपालिकाबाट प्राप्त बजेट लक्षित क्षेत्रबाहेक अन्य भौतिक पूर्वाधार निर्माणमा खर्च नगरी सोही काममा खर्च गर्ने सर्वदलीय सहमति भएको छ।
