रुस–युक्रेन वार्तामा प्रगति भएमा टर्की जान सक्ने ट्रम्पको घोषणा

दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि प्रगति भयो भने उनी अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्यक्ष रूस–युक्रेन वार्ताका लागि टर्की जान सक्ने बताएका छन् ।

“तपाईंलाई थाहा छ, यदि केही भयो भने, यदि उचित भयो भने म शुक्रबार जानेछु”, ट्रम्पले कतारमा भने, “हामी विश्वलाई मनोवैज्ञानिक रूपमा मद्दत गर्न सक्छौँ । त्यसैले हामीलाई लाग्छ कि हामी रुसरयुक्रेनसँग राम्रो गर्न जाँदैछौँ ।”

उनले एक दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आएमा वार्ताका लागि टर्की जाने बताएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई आउन उनी शान्तिका बारेमा गम्भीर रहेको छु भन्ने प्रमाणित गर्न आह्वान गरेको भए पनि रूसले त्यसको सट्टा कनिष्ठ प्रतिनिधिमण्डल पठाउँदैछ ।

पुटिन अनुपस्थित हुनुमा आफू आश्चर्यचकित नभएको भन्दै ट्रम्पले भने, “यदि म जाँदिनँ भने उहाँ किन जानुहुन्छ ?”

पदभार सम्हालेपछि ट्रम्पले तुरुन्तै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए तर रूसले युक्रेनले समर्थन गरेको ३० दिनको बिना शर्त युद्धविरामको अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको थियो ।

युक्रेन र अमेरिकी प्रशासनबीचको सम्बन्ध सुधारिएको भए पनि कतारमा फेरि ट्रम्पले जेलेन्स्कीका बारेमा हेपेर बोले । जेलेन्स्कीले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अर्बौं डलर सैन्य सहायता प्राप्त गर्न नजिकबाट काम गरेका थिए ।

“मलाई लाग्छ उहाँ सायद इतिहासकै सबैभन्दा महान् सेल्समेन हुनुहुन्छ”, ट्रम्पले जेलेन्स्कीको बारेमा भने । जेलेन्स्कीको फेब्रुअरी २८ मा ह्वाइट हाउसमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग तनावपूर्ण भिडन्त भएको थियो ।

आफ्नो प्रशासनले कसरी युक्रेनलाई सैन्य सहायता कटौती गरेको छ भनेर उल्लेख गर्दै ट्रम्पले भने, “यो यति सजिलो थियो, बच्चाबाट क्यान्डी लिनु जस्तै ।”

अमेरिकी राष्ट्रपति तीन राष्ट्रको खाडी भ्रमणमा छन् । भ्रमणका क्रममा उनी बिहीबार पछि संयुक्त अरब इमिरेट्स पनि जाँदै छन् ।

ट्रम्पले यो यात्राले टर्की जान ‘धेरै कठिन’ बनाएको बताए । यद्यपि उनले विदेशमन्त्री मार्को रुबियो त्यो देशमा गएको बताए । “उहाँले अद्भुत काम गरिरहनुभएको छ । मार्को त्यहाँ हुनुहुन्छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *