रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ।

उजुरी सामाजिक अभियन्ताका रुपमा आँफूलाई चिनाउँदै आएका युवराज सफलले गरेका हुन्। सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा।ली। को सञ्चालक रहेको र वर्षौंदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी दर्ता गरेका हुन्।

कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन्।

उनले दर्ता गराएको निवेदनमार्फत भनेका छन्, ‘भिजिट भिसाको नाममा ‘सेटिङ’ गरेर त्रिभुवन विमानस्थल हुँदै नागरिक विदेश पठाइएको प्रमाणहरू सार्वजनिक भइसकेका छन्। यस्तोमा अर्यालको कम्पनीले कागजात पूरा गरेर नागरिक पठाएको स्विकार्न सकिन्न।’

उक्त उजुरीमा सांसद डिपी अर्यालसहित कम्पनीका अन्य सञ्चालकलाई कानुनी दायरामा ल्याई दोषी ठहरिए हदसम्मको कारबाही गर्न माग गरिएको छ। प्रधानमन्त्री कार्यालयले भने हालसम्म यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *