रास्वपाले किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गर्यो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नाविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरिएको किर्ते जाहेरी तयार पारिएको भन्दै त्यस्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । रास्वपा र राप्रपाको विरोधका बावजुदत संसद्को रोष्ट्रममा उभिएर भिजिट भिसा प्रकरणबारे जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले आफ्नो राजनीतिक जीवन सधैं पारदर्शी रहेको र कहिल्यैपनि गलत काम नगरेको दाबी गरेका छन् । तर, अहिले यो प्रकरणमा आफूलाई राजनीतिक पूवाग्रह र षड्यन्त्र गरेर गलत आरोप लगाईएको उनको दाबी छ । उनले रास्वपाको नाम नलिएपनि आफ्नाविरुद्धमा पार्टी कार्यालयमा नक्कली पीडित खडा गरेर किर्ते उजुरी दिने षड्यन्त्र गरिएको सूचना आफूसँग रहेको भन्दै त्यसमा संलग्नहरुलाई कारबाही गर्नेपनि चेतावनी दिए ।

रास्वपाका सांसद मनिष झाले यस प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको यथेष्ट प्रमाण रहेको दाबी गरेका थिए । उनले आफूहरुको आन्दोलन जारी रहेकोसमेत घोषणा गरेका थिए । गृहमन्त्रीले जवाफ दिँदै गर्दा रास्वपाका सांसदहरु भने वेल घेराउमा उत्रिएका थिए ।

आज रास्वपा र राप्रपाको अवरोध र नाराबाजीकै बीचमा सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा माधव नेपालको सांसद पद निलम्बनमा परेको सूचनासमेत सभामुखले वाचन गरेका थिए । यस्तै, अर्को बैठक अब असार १ गते आईतबार बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *