काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘गन्हाउने व्यक्ति’ को संज्ञा दिएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्ता गन्हाउने व्यक्तिको नेतृत्वमा रहेका रास्वपाका अरु सांसदहरुले नैतिकताको पाठ सिकाउन नसक्ने बताएकी हुन् । रास्वपाका सभापति लामिछानेविरुद्ध अहिले विभिन्न ५ वटा जिल्लामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणलगायतका मुद्दा रहेको बताईन् ।
‘न संसदीय दलको नेताबाट उहाँले राजीनामा दिनुभएको छ । न पार्टी सभापतिबाट राजीनमा दिनुभएको छ । काण्डैकाण्डले भरिएको यस्ता गन्हाउने व्यक्तिको नेतृत्वमा बस्ने सांसदहरुले नैतिकताको पाठ कसलाई पढाउन खोजेको ? आफू गन्हाउने अनि अरुको बासन सुँध्न नसक्ने । कर्मचारीले बदमासी गर्यो भन्दैमा गृहमन्त्रीलाई मुछ्ने ?’ प्रश्न गर्दै उनले भनिन् ।
भिजिट भिसा प्रकरणमा रास्वपाले सदन अवरोध गर्दा जनताको आवाज र समस्याहरु प्रष्ट रुपमा राख्ने मौका नपाएको भन्दै उनले आपत्ति जनाईन् । रास्वपाका सभापति लामिछानेमाथि प्रश्न उठाउँदै उनले भनिन्, ‘उहाँको पार्टीको सभापति रवि लामिछाने विभिन्न काण्डमा, आज सहकारीमा मात्रै होइन कि नागरिकतामा, राहदानी काण्डमा, उहाँको पद पनि निलम्बन भइसकेको छ । तर, उहाँको पार्टीका माननीयज्यूहरुले अरुलाई नैतिकताको पाठ पढाउनुहुन्छ । आफ्नो सभापति कस्तो हो, आफू कस्तो स्कुलिङबाट आउँदैछु, भन्ने कुरा थाहा छैन । आफूलाई नियालेर हेर्नुहुन्न, आफूलाई अध्ययन गर्नुहुन्न । म कसरी प्रतिनिधित्व गर्दैछु भन्ने कुरा हेर्नुहुन्न ।’