काठमाडौँ । राष्ट्रियसभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनस्र्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहेको उल्लेख गर्दै पूर्वसूचना पाउँदा पनि विपद् न्यूनीकरणका लागि तयारी कमजोर भएको बताइन् । नेपाल र चीनको सीमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबारे पूर्वसूचना पाउँदा पनि आवश्यक सतर्कता नअपनाइएको उनको भनाइ थियो ।
अर्का सांसद राजेन्द्रलक्ष्मी गैरेले भोटेकोशीको बाढीमा परी केही व्यक्ति बेपत्ता रहेको, रसुवागढी नाकामा नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको, भन्सार यार्डमा राखिएका सवारीसाधनलगायत मालवस्तु बगाएको विषय उल्लेख गर्दै उद्धारलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् । सरकार जनताप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।
सांसद विष्णुबहादुर विश्वकर्माले अफगानिस्तानमा महिला अधिकार गम्भीर रूपमा हनन भइरहेका धारणा राख्नुहुँदै नेपालले यस विषयमा बोल्नुपर्ने बताए ।
सांसद दुर्गाकुमारी गुरुङले बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमणको जोखिम बढेको र नागरिकले दुःख पाइरहेको विषय संसद्मा उठाइन् ।
त्यसैगरी अर्का सांसद नरबहादुर विष्टले सरकारले अहिले सुरक्षा निकायका लागि हतियार खरिदको प्रक्रिया अघि बढाउन नहुने धारणा राखे । यो खरिद प्रक्रियामा आर्थिक हिनामिनाको प्रश्नसमेत उठेको उनको भनाइ छ ।
सांसद नारायणदत्त मिश्रले अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभाव भएको विषय संसद्मा उठाए । आर्थिक वर्षको अन्त्यमा कमसल काम गरेर भुक्तानी दिने प्रवृत्ति हट्न नसकेको बताए ।
सांसद युवराज शर्माले विद्यालय शिक्षा विधेयक संसद्बाट चाँडो पारित गरिनुपर्नेमा जोड दिए । चिकित्सकको आन्दोलन बारे गम्भीर हुन पनि उनले सरकारसँग आग्रह गरे ।
