वाशिङ्गटन डिसी। अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
बुधबार यहाँ राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको नेपाली नियोगले जनाएको छ ।
कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना गरेका थिए । राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय र पारस्परिक सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गरे ।
उनले अमेरिकाले सामाजिक, आर्थिकलगायत नेपालका विकास प्राथमितामा पुर्याउँदै आएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।
राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ दायित्व बहन गरेकोमा बधाई ज्ञापन गरेका थिए । उनले अमेरिकी सरकार दुई देशबीच सामूहिक चासोका साथ सहकार्यमार्फत सुमधुर र पारस्परिक सम्बन्ध थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताए।