राजावादी र माओवादी एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् : शंकर पोख्रेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले कांग्रेससँग सम्बन्ध सुधार गर्नको लागि माओवादी र राजावादीहरुले एमालेलाई गाली गरेको आरोप लगाएका छन् ।

एमालेका जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजावादीहरुलाई पश्चगामी सोच भएका र माओवादीलाई कम्युनिस्ट नामधारीको संज्ञा दिएका छन् । दुवै राजावादी र माओवादीले एमालेलाई गाली गरेर कांग्रेससँग सम्बन्ध सुमधुर बनाउने प्रयास गरेको पोखरेलको टिप्पणी छ ।

उनले आफ्नो पार्टी एमाले सरकारमा भएको धेरैलाई मन नपरेकोले विभिन्न लाञ्छना लगाईएको पनि आरोप लगाए । उनले एमाले सरकारमा बसेको मन नपरेकाहरुले हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाएको भन्दै सरकार सहमतिबमोजिम अघि बढ्ने दाबी गरेका हुन् ।

उनले पार्टीको विधान महाधवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुने भएकाले अहिले कुनै नेताका नाममा कित्ताकाट गर्न जरुरी नभएको पनि स्पष्ट पारे । अहिलेको बहस नीति निर्माणको लागि भएको भन्दै नेतृत्वको लागि कित्ताकाट नहुन आम नेता तथा कार्यकर्ता पँक्तिलाई उनको निर्देशन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *