रसुवा बाढी अपडेटः १८ जना अझै बेपत्ता, ठूलो मात्रामा भौतिक क्षति

काठमाडौं । चीनको तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको भोटेकोशीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन् । रसुवा प्रहरीका अनुसार बाढी आएपछि उद्धारमा खटिएकामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा बेपत्ता भएका हुन् ।

बेपत्ता हुने अन्यमा ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ रहेको बताइएको छ । बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा नेपाली नागरिक जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, नरेन्द्र विक, फुर्वा लामा, गोविन्द मोक्तान, लोकमान तामाङ रहेको छन् । त्यसैगरी चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG बेपत्ता भएका छन्।

बाढीमा फसेको २ जना सुरक्षाकर्मी र ७ जना सर्वसाधारण गरी ९ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । उद्धारमा १२० जना सुरक्षाकर्मी परिचालित भएका छन् ।

बाढीबाट नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको, विद्युतीय चार्जिङ स्टेसनमा क्षति, ७÷८ वटा इलेक्ट्रिक गाडी बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुगेको, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको बताइएको छ ।

 
साथै, गोसाईँकुण्डा गाउँपालिका पासाङल्हामु सडक बाढीको कारण चर्किँदा धुन्चेदेखि टिमुरेसम्म जोड्ने सडक सञ्जाल अवरुद्ध भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *