काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले नदी तटीय क्षेत्रमा जोखिमको सम्भावना अझै कायम रहेको बताएका छ । सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले सूचना जारी गर्दै प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने सबैलाई सावधानी अपनाउन भनेका छन् ।
‘विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाई यातायातका साधन सञ्चालन गर्दा वा यात्रा गर्दा समेत आवश्यक सूचना लिई मात्र गर्नु हुन अनुरोध छ,’–सूचनामा भनिएको छ ।
रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीस्थित मितेरी पुल पूर्णरुपमा क्षति भएको छ । नेपाल,चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुगेको बताइएको छ ।
