यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताएका छन्।

हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ टिकटका आवरणमा टाँचा प्रदान गरेपछि सञ्चारमन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् । हुलाक सेवा विभागले अहिलेसम्म जनकशिक्षा सामग्रीद्वारा टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको उनले बताए ।

बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजात मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्ने सञ्चारमन्त्री गुरुङले बताए । उनले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालीनाली संरक्षण जरुरी रहेको बताए ।

विभागले ल्याएको नयाँ टिकटमा नेपालका जात्राअन्तर्गत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दिरमा बालकुमारी मन्दिर (ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवि मन्दिर (चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर(गोरखा), बैतेश्वर महादेव मन्दिर (दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान् विष्णु कौडेना सर्लाही, बाह्रौँ÷तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्अन्तर्गत ई कुलरत्न तुलाधर, शङ्करदेव पन्त र पं ऋषिराम पन्थी गरी १४ टिकट रहेका छन् ।

कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक नेपाल हुलाक टिकट (विसं १९३५–२०८२) पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको १९३५ सालदेखि २०८२ सालसम्म प्रकाशन भएका हुलाकका टिकटको विवरण उल्लेख छ । विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्तावेज बन्दै आएको बताए । उनले देशविदेशमा प्रचार गर्ने र पर्यटन प्रवद्र्धनमा हुलाकको भूमिका प्रभावकारी बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *