महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारका विकास योजनामा भएको अनियमितता छानबिन गर्न मधेस प्रदेशसभाले संसदीय छानबिन विषेश समिति गठन गरेको छ।
प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा विशेष समिति गठन गरेको हो।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले छानबिन समितिमा प्रदेशसभा सदस्यहरु केशव राय, कुमारकान्त झा, किरणकुमारी साह, शम्भुकुमार साह, रहबर अन्सारी, रविता प्रधान, कनिष पटेल, उर्मिला देवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी रहेको घोषण गरे।
प्रतिपक्षी दलहरुले चालु आर्थिक वर्षका योजनामा मधेस सरकारले अनियमितता गरेको आरोप लगाउँदै आएका छन्।