काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पलायन रोक्न सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले नेपालमा अहिले केही हदसम्म युवा पलायन समस्याको रुपमा देखापरेको बताए । उनले सरकारले स्टार्टअप, विभिन्न फ्यासिलिटीहरु, विभिन्न प्रकारका ऋणहरु, सहुलियतहरु, निर्व्याजी ऋणहरु, अनुदानहरु दिएर युवाहरुलाई नेपालमै केही गर्ने आधार दिइरहेको बताए ।
‘अलिकता युवाहरु बाहिर हुनुहुनुन्छ, नराम्रो कुरा हो । युवाहरुलाई बाहिर जाने कामबाट रोक्नुपर्छ र देश विकासको काममा लगाउने बाटो हामीले खोज्नुपर्छ । सरकार त्यसमा क्रियाशील छ,’– उनले भने ।
साथै उनले नेपाल विकासशील राष्ट्रमा प्रवेश गर्दै गरेकोमा खुसी व्यक्त गरे । उनले अब नेपाल दीगो विकास गन्तव्य पूरा गर्ने कठोर चुनौतिका सामना गर्न तयार हुनुपर्ने उनको भनाइ छ । ‘डेभलपिङमा ग्राजुयशन गरेपछि काम पूरा भयो भन्ने होइन । हामी विकासशील राष्ट्र भयौं भनेर चुप लागेर बस्ने होइन । त्यसपछि हामीले दीगो विकास गन्तव्य पूरा गर्ने कठोर चुनौतिमा लाग्नुपर्छ । दुनियाँका धेरै देशहरुमा नेपाल अगाडि छ,’– उनले भने ।
