मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित गरेको छ ।

मुस्ताङ(डोल्पाको सिमाना नजिकै पर्ने साङ्ता गाउँ सङ्घीय सरकार द्वारा सन् २०२२ मा पत्ता लगेको विकट बस्ती हो । यो गाउँ जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्दछ । भौगोलिक रूपले विकट मानिएको भिरालो सतहमा अवस्थित साङ्ता गाउँमा १३ परिवारको बसोकार छ । यहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा ३४ जना मतदाता थिए ।

कृषि र पशुपालनमा आश्रित साङ्ता गाउँ वारागुङ मुक्तिक्षेत्र-५ अन्तर्गत पर्दछ । सरकारी निकायको कम उपस्थित हुने यो गाउँमा पछिल्लो समय विकासले पाइला टेक्न थालेको छ । यसअघि अभाव, अशिक्षा र आर्थिक विपन्नताले कष्ठकर बनेको यहाँका नागरिकको दैनिक विस्तारै सहज बन्दै गएको हो ।

मुस्ताङ र डोल्पामा सडक विस्तार, सौर्य ऊर्जा पहुँचसँगै मोबाइल नेटवर्क सेवा सुरु हुन थालेपछि दैनिकी सहज हुने भन्दै स्थानीय उत्साहित भएका छन् । बर्सेनि सात महिना गाउँमा र पाँच महिना प्रतिकूल मौसमका कारण घुम्ती बासस्थान सार्ने गरेका यहाँका नागरिकमा अहिले भने आधारभूत सेवा प्रवाह हुन थालेसँगै आशाको सञ्चार पलाउन थालेको छ ।

नेपाल टेलिकमले वारागुङ मुक्तिक्षेत्र-२ को घिउलाडाँडामा रहेको माइक्रोवेभ रेडियो लिङ्कको रिपिटर टावरबाट जडान गरी साङ्ता गाउँमा मोबाइल फोन र थ्रिजी इन्टरनेट सेवा विस्तार गरिएको टेलिकम जोमसोमका कार्यालय प्रमुख हुमबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार बेस्ट ट्रान्समिसन स्टेसन (बिटिएस) जडान गरी सञ्चारको पहुँच स्थापित गरिएको हो ।

साङ्ता गाउँमा मोबाइलसँगै थ्रिजी इन्टरनेट सेवा सञ्चालन गर्न एक बिटिएस रिपिटर टावरसँगै अर्को मोबाइल सेवाको बिटिएस रिपिटर र भौतिक पूर्वाधार निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताए ।

सरकारको लक्ष्य अनुसार जनताले गुणस्तरीय सञ्चार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले साङ्ता गाउँमा मोबाइल नेटवर्क सेवा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुुख भुजेलले उल्लेख गरे । मुस्ताङ-डोल्पा सडकको सिमावर्ती गाउँ साङ्तामा मोबाइल (बिटिएस) सेवा सुरु गर्न सौर्य ऊर्जा प्यानल जोडेर ४८ भोल्ट विद्युत् क्षमताको मोबाइल नेटवर्क सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

गाउँमा पहिलो पटक नेपाल टेलिकमको (बिटिएस) मोबाइल सेवा सञ्चालनमा आएसँगै सञ्चार पहुँच विस्तारले जनजीवन सहज बन्ने स्थानीय छिरिङ पाल्साङ गुरुङले विश्वास व्यक्त गरे । “पहिले बाहिर कसैलाई फोन गर्नुपरे एक घण्टा हिँडेर लेकमा जानुपथ्र्यो, अहिले गाउमा सञ्चार सेवा पुगेपछि समय र खर्चको बचत भएको छ”, उनले भने ।

मोबाइल आपतविपत पर्दा सूचना थाहा पाउन र व्यावसायिक प्रयोजनमा पनि प्रयोग गर्न सकिने गुरुङको भनाइ छ । स्थानीय झप्याङ गुरुङले गाउँमा मोबाइल सेवा सुरु भएपछि समाचार पढ्न, फोन गर्न र कुनै सूचना प्राप्त गर्न सजिलो भएको बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिञ्जिङ नाम्गेल गुरुङले जिल्लाको विकट गाउँ साङ्तामा मोबाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीमा आशाको सञ्चार भएको उल्लेख गरे । गाउँमा मोबाइल सेवा सुरुभएसँगै प्रसूति र दीर्घरोगीका साथै यहाँ आउँजाउँ गर्ने सबैलाई सञ्चार सुविधाले सहज हुने उनले विश्वास व्यक्त गरे ।

“भौगोलिक विकटता र कम जनसङ्ख्या भएकाले यहाँ सञ्चार सेवा पुर्‍याउन सकेका थिएनौँ । निरन्तरको प्रयासपछि सरकारले हाम्रो प्रयासलाई मूर्त रूप दिएको छ । यहाँका समस्या, चुनौती, विकास पूर्वाधारलगायत क्षेत्रको विकासमा सञ्चारले सहयोग पुर्‍याउने विश्वास छ”, उनले भने ।

वारागुङ-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले साङ्ता गाउँमा जडान भएको मोबाइलको टावर र सञ्चार गृहको संरक्षणका लागि तारबारसहित संरचना निर्माण गरिने बताए ।

मुक्तिक्षेत्रकी उपाध्यक्ष डिकी गुरुङले गाउँपालिकाको पहलमा अघिल्लो वर्ष सौर्य ऊर्जा विद्युत् र यो वर्ष मोबाइल सेवा सञ्चालनमा ल्याउन सफल भएको बताइन्।

“मुस्ताङको ९६ वटा गाउँमध्ये सबैमा विद्युत् र सञ्चारको पहुँच स्थापित हुँदा साङ्ता गाउँ भौगोलिक विकटताका कारण विद्युत् र सञ्चारको सुविधा पुग्न सकेको थिएन । यहाँका जनताले प्राप्त गर्ने आधारभूत सेवा सुविधा नहुँदा गाउँ विस्थापित हुने जोखिममा थियो”, उनले भनिन् ।

दुई वर्षमा साङ्ता गाउँमा सौर्य ऊर्जा, विद्युत् र टेलिकमको बिटिएस मोबाइल सेवा सञ्चालन हुँदा स्थानीय निकायका जनप्रतिनिधिसहित सबै भएका छन् । योसँगै नेपाल टेलिकमले मुस्ताङको सबै गाउँमा सञ्चारको पहुँच स्थापित गर्न भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *