काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पतञ्जली योग पीठको जग्गा प्रकरणको मुद्दा प्रतिशोधपूर्ण रहेको बताएका छन् ।
आज (शुक्रबार) पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले २०६९ सालमा अख्तियारले मुद्दा नचल्ने भनेर तामेलीमा राखिसकेको विषयलाई अहिले चिहानबाट उधिनेर अगाडि बढाइएको बताएका हुन् । एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाका अनुसार अध्यक्ष नेपालले आफूमाथि लागेको सबै आरोपहरु झुठा रहेको बताएका थिए ।
‘२०६९ सालमा अख्तियारले हदबन्दीबाहेक अन्य कुराहरु अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने, पतञ्जलीले केही जग्गा खरिद गरिसकेको, यो मुद्दा तामेलीमा राख्ने भनेर अख्तियारले क्लोज गरिसकेको, २०६९ सालमा एक किसिमले क्लोज भएको तामेलीमा राखेको मुद्दालाई उधिनेर, चिहानबाट उधिनेर अहिले मुद्दा अगाडि बढाउने प्रयास गरियो । त्यो सबै विवरणसहित अदालतमा आफूले बयान दिएको विषयहरु रिपोर्टिङको रुपमा बैठकमा राख्नुभयो,’– अध्यक्ष नेपालको भनाइ उदृत गर्दै ज्वालाले भने ।
उपाध्यक्ष ज्वालाका अनुसार अध्यक्ष नेपालले पतञ्जली योग पीठलाई जग्गा दिने निर्णय प्रक्रियाहरु, निर्णयहरुमा प्रक्रिया पुगेका कुराहरु, मन्त्रिपरिषद्ले गरेको निर्णयहरु परिपक्व रहेकोलगातका विषयहरु राखेका थिए । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध अख्यितारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । अध्यक्ष नेपाल विशेष अदालतबाट ३५ लाख धरौटीमा रिहा भएका हुन् । भ्रष्टाचार मुद्दा लागेपछि उनको सांसद पद पनि निलम्बनमा रहेको छ ।
उपाध्यक्ष ज्वालाले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा प्रतिशोधपूर्ण रहेको आफूहरुको निष्कर्ष रहेको बताए । नीतिगत विषयमा अख्तियारले मुद्दा नै चलाउन नमिल्ने उनको भनाइ छ । भ्रष्टाचार गरेको हरेक व्यक्तिका फाइल खुलोस् र साच्चिकै भ्रष्टाचारीहरुलाई कारबाही गरिनुपर्नेमा आफ्नो पार्टी दृढ रहेको उनले बताए ।
