माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच जना घाइते

अदानचुली (हुम्ला)। सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ।

निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा सो दुर्घटना भएको हो। घटनामा परी गम्भीर घाइते भएकी २३ वर्षीया विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

सोही घटनामा परी घाइते भएका पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उपरीक्षक पोखरेलले बताए। घाइते हुनेमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन्। उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *