मह र घारबाट वार्षिक ६५ लाख बढीको कारोबार

बागलुङ (गलकोट) । बागलुङ नगरपालिका—१२, बलेवा अमलाचौरका जगत केसी र जनक केसी अहिले मौरीको घार बनाउन र मौरी स्याहार्न व्यस्त छन् ।

उनीहरू आफ्नै बाबुको पदचाप पछ्याउँदै यो पेसामा लागेका हुन् । २०४५ सालतिर कतैबाट भागेर आएको एक घार मौरी वनबाट उनका बुवा दिलबहादुर खत्रीले छोपेर ल्याएका थिए । उनले काठको फल्याक ठोकेर घार जस्तो बनाइदिएर सामान्य रूपमा गाउँ घरमै बनाइएको मुडे घारमा मौरी पालन सुरु भयो । २०५६ सालमा आइपुग्दा दस, बाह्र घार मौरी भयो । उनले बलेवामौरी पालन उद्योग भनेर फार्म दर्ता गराए

फार्म दर्ता भएपनि उनले व्यवसायिक रूपमा मौरीपालन गर्ने काम सुरु भएको थिएन । २०६१ सालमा जिल्ला कृषि विकास कार्यालयले मौरी पालक किसानका लागि तालिम सञ्चालन गर्‍यो । त्यस तालिममा खत्री पनि त्यो तालिममा सहभागी भए । त्यसपछि बल्ल उनले मौरी पालनलाई व्यवसायिक रूपमा पाल्न थाले ।

उनले भने, ‘घरमा मह निकालेर खान हुन्छ भनेर २०४५ सालमा वनमा भेटिएको मौरी उठाएर ल्याएको हुँ, मुढाको घार जस्तो बनाएर फल्याक ठोकेर राखेको र २०६१ सालमा मलाई पनि बोलाएर तालिम दिएपछि बल्ल मैले पनि मौरी पनि व्यवसायिक रूपमा बनाउने सीप सिके । त्यसपछि उद्योगलाई विकास र विस्तार गर्दै गएँ ।

खत्रीले त्यो बेला दर्ता गरेको फार्मले अहिले साँच्चिकै उद्योगको रूप लिएको छ । उनी आफैँले सिकर्मी काम गर्ने भएकाले आफूलाई आवश्यक पर्ने मौरीका घारहरू आफै बनाउँछन् । अहिले खत्रीले घार बनाउने कामले पनि उद्योगको रूप लिएको छ । ‘पहिले पहिले आफूलाई चाहिने मात्रै बनाउँथे, पछि घारको माग आउने थालेपछि अरुलाई पनि बेच्नथालें,’ उनी भन्छन्, ‘अहिले मौरीको महभन्दा घार बढी बेच्ने गरेको छु ।’

उनले मौरी पालनदेखि घार बनाउने कामलाई पनि व्यवसायिक रूप दिएपछि अहिले खत्रीका दुई छोराहरू पनि बाबाको पदचाप पछ्याउँदै यही पेसामा संलग्न भएका छन् । खत्रीका चार भाइ छोराहरू मध्ये जीवन र दिनेश अहिले वैदेशिक रोजगारीमा छन् ।

जेठो जगत केसी र साइँलो जनक केसीले बाबुले गरेको पेसालाई थप विस्तार गर्ने काममा लागेका छन् । बाबुले गरेको पेसाबाट मनग्य आम्दानी गर्न सकिएको जगत केसी बताए ।

‘पहिले बुवाले सञ्चालन गरेको फर्मबाट नै राम्रो हुँदै गयो,’उनले भने,‘अहिले बुबाकै कामलाई हामी दुई दाजुभाइ पनि साथ दिएका छौँ । जे होस् अहिलेसम्म राम्रो छ ।’ मौरीको मह उत्पादन गरेर बिक्री गर्ने, मौरी सहितको घर बिक्री गर्ने र खाली घार बिक्री गर्ने काम अहिले उनीहरूले गर्दै आएका छन् । पछिल्लो समय महबाटभन्दा मौरी सहितको घारबाट ज्यादा कमाइ हुन थालेको छ ।

‘बागलुङ जिल्लाभरिका विभिन्न ठाउँबाट मौरीसहितको घारको माग हुन्छ,’ उनले भने, ‘अहिले त महबाट भन्दा घार सहितको मौरीबाट कमाइ राम्रो हुन्छ ।’ उनीहरुले चार ठाउँमा गरेर अहिले ३२० घार मौरी पालेका छन् । त्यसबाट मह उत्पादनसँगै घारबाट रानीमौरी सहित रानो छुट्टाएर घारमा राखेर बिक्री गर्ने गरेका छन् । ‘घार फोरेर नयाँ घारमा राखेर मौरी दिँदा पाँच सरियावाला घारको अहिले जिल्ला दररेट १० हजार पाँच सयको छ, चार सरियावाला घारको ९ हजार जति पर्छ,’उनले भने ,‘खाली घारको तीन हजार देखि ३५ सय रुपियाँसम्म पर्छ ।’

घार उत्पादन गर्दा ग्राहकको माग अनुसार उत्पादन गर्ने गरेको उनी बताउँछन् । ‘सस्तो घार माग्नेलाई उत्तिसको काठ पनि मिसाइएको घार दिन्छौँ, मूल्यमा बार्गेनिङ नगरी राम्रो घार खोज्नेका लागि टुनीको काठबाट बनेको घार उपलब्ध गराउँछौँ । हामीले बनाएको घारको कम्तीमा २० वर्षको आयु हुन्छ ।’ मागअनुसार मासिक पाँच सयदेखि एक हजारसम्म घार उत्पादन गर्ने गरिएको उनले बताए ।

‘हामीसँग अहिले सात जना कामदार हुनुहुन्छ, उहाँहरूले हामीलाई घार बनाउनका लागि गर्नुहुन्छ,’ उनी भन्छन्,‘आधुनिक मेसिन राखेका छौँ । महिनामा एक हजारसम्म घार उत्पादन गर्न सकिन्छ । माग भई आएको खण्डमा अझ मजदुर थप गरेर पनि उत्पादन गर्न सकिन्छ ।’

उनीहरूले उत्पादन गर्ने घारको बागलुङमा मात्र नभई देश भरी र देश बाहिरबाट समेत माग हुँदै आएको छ । पर्वत, म्याग्दी, कास्की, तनहुँ, चितवनबाट पनि माग आउँछ,’उनले भने,‘दुई वर्ष अगाडि त भारतको सिक्किमबाट पनि माग भएपछि २२५ वटा घार पठायौँ।’ घार र मह बिक्रीबाट उनीहरूले वार्षिक ६० देखि ६५ लाखमाथिको कारोबार गर्छन् ।

त्यसबाट करिब ३० प्रतिशत जति नाफा हुने जगत बताए । ‘ठ्याक्कै यति नै भन्ने हुँदैन तर वर्षमा ६५ लाखमाथिको हामीले कारोबार गर्ने गरेका छौँ,’ उनले भने,‘त्यसको ३० प्रतिशत झण्डै १८(१९ लाख नाफा हुन्छ । हामीले त्यसले पनि उद्योगको विकास र विस्तारमा बढी खर्च गर्ने गरेका छौँ ।’

बाबुले गरेको काम देखेर आफूहरू पनि यसैमा लागेको जगतको भनाइ छ । राज्यले बजारको ग्यारेन्टी गरिदिने हो भने विदेशबाट घार आयात नहुने गरी उत्पादन गर्न सकिने केसिले बताए । ‘नेपालमा अहिले पनि सस्तो घारहरू आउँछन्, सरकारको अनुदान जति त्यस्तो घारहरूमा गएको छ,’ उनले भने, ‘हामीले ८० लाख त मेसिनमा नै लगानी गरेका छौँ । अब जनशक्ति थप्ने हो यहाँका लागि पुग्नेगरी घार उत्पादन गर्न सकिन्छ ।’

अहिलेसम्म बागलुङ नगरपालिकाबाट उद्योगको छानो हाल्नका लागि १८ लाख बराबरको कुल लागतमा ५० प्रतिशत अनुदान ९ लाख रुपियाँ पाएको बताए ।

‘प्रदेश सरकार वा अरु कुनै निकायबाट सहयोग पाए थप मेसिनहरू थपेर उद्योगलाई अझ विस्तार गर्ने योजना भएको बताए । एक सिजनमा एउटा घारबाट चार(पाँच किलोसम्म मह उत्पादन हुन्छ। सिजन राम्रा परेको बेलामा वर्षमा तीन, चार चोटीसम्म मह काढ्न सकिन्छ। ‘सिजन राम्रो परेको बेलावनमा राम्रोसँग फूल फुलेको बेलामा तीन चोटीसम्म मह काढ्न सकिन्छ,’उनले भने ,‘राम्रो परेको बेला त एउटै घरबाट ७ किलोसम्म मह निकाल्न सकिन्छ ।’

घारमा अहिले रैथाने सेरेना जातको मौरी पालेका छन् । मौरीका लागि चरण क्षेत्रको अभाव नहोस् भनेर भैरवस्थान नजिकै पाखोमा, घर वरिपरि तथा राउले र जलजला भन्ने ठाउँमा मौरीको घार राखिएको छ । यो वर्ष मौरी सहितको घार बढी बिक्री भएकाले मह उत्पादन कम भएको उनी केसिले बताए । ‘यसपालि घार सहितको मौरी बढी बेचियो, मह त्यस्तै १२ सय किलो जति उत्पादन भयो होला,’ उनले भने ।

मौसम र समय हेरेर एक किलो महको मूल्य १२ सय देखि १५ सय रुपियाँसम्म पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *