महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले महिलाको हकअधिकार तथा सुरक्षाको विषयमा तीनै तहका सरकार गम्भीर हुन जरुरी रहेको बताएका छन् ।
जनकपुरधाममा आज मधेश प्रदेशसभाका सदस्यहरुसँग प्रदेशसभाका समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी छलफल कार्यक्रममा सभामुख मण्डलले विगतको तुलनामा राजनीति प्रशासनिकलगायत क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताए । महिलाको सम्मान र इज्जत गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उनले महिला सशक्तिकरणमार्फत महिलालाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको छ भने ।
सभामुख मण्डलले महिला सङ्कीर्ण विचारबाट माथि उठेर उच्च आत्मविश्वास र हौसलापुर्ण तरिकाले अगाडि बढ्नुपर्ने बताए ।
छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद पुष्पा भुषालले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाको उत्थानमा राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । साथै उनले महिलाको हक अधिकारका लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा तीनै तहको सरकारले जोड दिनुपर्ने बताए ।
सो कार्यक्रममा विभिन्न दलका नेता, सांसद तथा नागरिक समाजका अगुवाहरुको सहभागिता थियो । ‘सशक्त महिला, समृद्ध नेपाल परियोजनाअन्तर्गत फोरम फर वीमेन, ल’ एन्ड डेभलपमेन्ट, महिला कानुन र विकास मञ्चको आयोजनामा कार्यक्रम भएको हो ।
