महाधिवेशन कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षबीनै टुंगिएको छ। महाधिवेशनको कार्यतालिकामा सहमति जुटाउन भन्दै आजका लागि पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठक विनानिष्कर्ष टुंगिएको हो।

पार्टीको १५औं महाधिवेशनको मिति तोक्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएपछि निष्कर्ष निकाल्न भन्दै आज बैठक बसेको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए।

दुवै महामन्त्री उपस्थित नभएपछि पदाधिकारी बैठकबाट कार्यतालिकाबारे सहमति जुटाउने भन्दै खड्काले आइतबारसम्म केन्द्रीय समिति बैठक स्थगित गरेका थिए।

संस्थापनइतर समूह आगामी मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिइरहेको छ। संस्थापन पक्ष फागुनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छ।

शनिबारको बैठकमा महाधिवेशनको दुईवटा कार्यतालिका प्रस्तुत भएको बताइएको छ। महामन्त्री शर्माले आगामी पुस १६–१८ मा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गर्दा संस्थापन पक्षले आगामी वैशाखको कार्यतालिका प्रस्तुत गरेको बताइएको छ।

संस्थापन पक्षका तर्फबाट वैशाखको २८–३० मा महाधिवेशन आयोजना गर्ने प्रस्ताव पेस भएपछि सहमति जुट्न नसकेको हो।

महाधिवेशनको कार्यतालिकाबारे पदाधिकारी बैठकमा सहमति नजुटेपछि आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *