मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण सोधेको भन्ने विषय निराधार भएको बताएकी छन्।

आफूमाथि उठेका विषयमाथि सचिवालय बैठकमा नै प्रष्ट पार्न पाउँ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी झाँक्रीले स्पष्टीकरणको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा निराधार भएको बताएकी हुन्।

आफूले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताइन्। तर, पार्टीका ठूला नेताहरूले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसावले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ।

उनले आफूले बोलेका विषयमा भने बैठकमा आफ्ना कुरा राख्ने उल्लेख गरिन्। स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थित भइ स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएकी हुन्।

झाँक्रीले १४ असारमा युवा संघ लुम्बिनी प्रदेशको भेलामा समय अगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *