मन्त्री शाहीको नर्वे भ्रमण औपचारिक र उद्देश्य केन्द्रितः वन मन्त्रालय

काठमाडौं। वन तथा वातावरण मन्त्रालयले मन्त्री ऐनबहादुर शाही ठकुरीको नर्वे भ्रमण औपचारिक तथा उद्देश्य केन्द्रित रहेको जनाएको छ।

मन्त्रालयले आज विज्ञप्तिमार्फत उनको भ्रमणका सम्बन्धमा प्रकाशित समाचार तथा टिप्पणीप्रति स्पष्ट पार्दै भ्रमणले नेपाल–नर्वेबीच कूटनीतिक सम्बन्ध सुदृढ गर्नमा थप योगदान पुग्ने उल्लेख गरेको छ।

‘यही साउन ९ देखि १४ गतेसम्म नर्वेमा आयोजना भएको सहयोग सवलीकरण कार्यक्रममा मन्त्रालयलाई सहभागिताका लागि इंगल्यान्ड विश्वविद्यालयबाट असार २० गते डेनमार्कस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयमार्फत औपचारिक निमन्त्रणा आएको थियो,’ विज्ञप्तिमा उल्लेख छ।

सोही निमन्त्रणाका आधारमा मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेस भई नेपाल सरकार मन्त्रिपरिषद्बाट असार २३ गते नेपाल सरकारलाई कुनै थप आर्थिक दायित्व नपर्ने गरी सहभागी हुन वनमन्त्री शाहीलाई स्वीकृति प्रदान गरिएको थियो।

सोहीबमोजिम भ्रमण कार्यक्रममा मन्त्री शाही नर्वे भ्रमणमा गएको र उक्त कार्यक्रममा भ्रमण खर्च आयोजकबाट नै व्यहोरिएको तथा अन्य खर्च व्यक्तिगत तवरबाट भएकाले यसमा सरकारलाई कुनै आर्थिक दायित्व नपरेको मन्त्रालयले स्पष्ट पारेको छ।

उपरोक्त भ्रमण कार्यक्रम सो विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको साझेदारिता प्रवर्द्धनका सन्दर्भमा महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी भ्रमणका क्रममा मन्त्रालयस्तरीय र उच्च शैक्षिक संस्थासँग भएका अन्तरक्रियाले नेपालको संरक्षण उपलब्धिप्रति आपसी सहकार्य र सद्भाव बढाएको र पारिस्थितिकीय प्रणालीमा गरिने अनुसन्धान र जैविक विविधता संरक्षणमा नेपाल–नर्वे सहकार्यलाई थप मजबुत बनाउने बलियो आधार तयार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *