काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको लागि केन्द्रदेखि स्थानीय तहसम्मका सबै जिम्मेवार निकाय मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ ।
प्राधिकरणले आइतबार विज्ञप्ति जारी गरी जेठ १५ गते बिहीबार रातिदेखि कोशी प्रदेशबाट प्रवेश गरेको यस वर्षको मनसुन पश्चिमतिर विस्तार हुँदै जेठ २९ बाट लुम्बिनी प्रदेशका पूर्वी भू–भागसम्म पुगेको भन्दै आवश्यक तयारीमा जुट्न आग्रह गरेको हो ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्षको मनसुन अवधिमा बाढी, पहिरो, डुबान, भारी वर्षा, चट्याङजस्ता मनसुनजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।