काठमाडौं । मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन् । यसैगरी एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन् । मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ ।
यसअघिका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । मण्डललाई पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी थिइन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा तीन सदस्य निलम्बित छन् ।
