काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य असीम शाहले भिजिट भिसा प्रकरणको जरोसम्म पुगेर छानविन हुनुपर्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भिजिट भिसा प्रकरणमा सरकार मुकदर्शक बनेर बस्न नहुने बताएका हुन् । उनले भिजिट भिसा प्रकरण संगठित मानव तस्करी रहेको बताए । लाखौं असुलेर, नेपाली युवाहरुलाई झु्ठो आश्वासन दिएर विदेशी भूमिमा पुर्याइ अलपत्र पार्ने र संगठित मानव तस्करीमा संलग्न हुनेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको माग छ ।
‘लाखौं असुलेर, रोजगारी दिने झुठो सपना देखाएर युवाहरुलाई विदेशी भूमिमा अलपत्र पार्ने यो अपराध संगठित मानव तस्करी हो । यस्तो मुद्दामा तत्काल निष्पक्ष छानविन नगरेर सरकार मुकदर्शक बनिरहँदा देशमा सरकार होइन सर्कस चलिरहेको छ जस्तो लाग्छ । यो अवस्थामा सरकार मुकदर्शक बनेर बस्ने होइन, छानविन गर्नुपर्छ । राज्यको प्रमु्ख दायित्व त्यसको जरोसम्म पुग्नु हो,’– उनले भने ।
भिजिट भिसा प्रकरणमा दोषीलाई सजाय दिने र पीडितलाई न्याय दिने एक निष्पक्ष छानविन समिति गठन गर्नुपर्ने उनले बताए । साथै, गृहमन्त्रीले विगतमा सदनमा नैतिकताको पाठ सिकाउने गरेको स्मरण गराउँदै उनले अब उपदेश नभएर नैतिकता आचरणमा देखाउनुपर्ने बेला आएको बताए । ‘गृहमन्त्रीले यही सदनमा भन्नुभएको थियो– कुनै मन्त्रीमाथि प्रश्न उठे नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । आज त्यो उहाँमाथि नै प्रश्न उठेको छ । अब उपदेश होइन, आचरण देखाउने समय हो,’– उनले भने ।
