भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नोविरुद्धमा नियोजित ढंगले गलत प्रचारबाजी गरिएको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा आफ्नोबारेमा उठेका प्रश्नको जवाफ दिँदै उनले भिजिट भिसा प्रकरण मिडियाबाट सुनेर थाहा पाएको बताए । उनले आफ्नो विरुद्धमा षड्यन्त्र भइरहेको र राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास भएको बताए । संविधानबाट अधिकार प्राप्त संवैधानिक निकायले गरिरहेको भ्रष्टाचारको छानविनमा सरकारले जवाफ दिन आवश्यक नरहेको उनको दाबी छ ।

‘त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसासम्बन्धी विषयमा सोधपुछका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने विषय मैले सञ्चार माध्यमबाटै थाहा पाएको हुँ । अख्तियारले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचार–प्रसारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन,’– उनले भने ।

अख्तियारबाट हुने भ्रष्टाचारविरोधी काम कारबाहीमा आफूले खुला हृदयले. स्वागत गर्ने उनले बताए । संवैधानिक निकाय अख्तियारले गर्ने काम कारबाहीमा कतैबाट पनि प्रभावित पार्न नहुने उनले बताए । आफू न्यूनतम् नैतिक आचरणमा बस्ने व्यक्ति भएको कुरा सबैलाई थाहा नै रहेको उनले बताए । गृहमन्त्री लेखकले अख्तियारबाट हुने काम कारबाहीमा आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताए ।

‘आयोगमा भइरहेको अनुसन्धानको बारेमा मलाई कुनै जानकारी हुँदैन र छैन । अनुसन्धानमा आयोगले कुनै समय माग गरेको अवस्थामा मन्त्रालय र मातहतको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *