भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाउने काम गरेको बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसका अवसरमा कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्तव्य राख्दै सभापति देउवाले विभिन्न जातजातिका पहिचानलाई जोगाउँदै पहिचानसहितको राष्ट्र बनाउने कार्यले नेपाललाई सुन्दर बनाउने विश्वास व्यक्त गरे ।

कांग्रेसका सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयले संस्कृतिसम्बन्धी नीति मन्त्रिपरिषद्मा पेस गरेको जानकारी उक्त नीति चाँडै पास हुने बताए । उनले प्रत्येक जातजाति, भाषाभाषीका कला, संस्कृतिm, नेपालको जातीय र भाषिक विविधतालाई विश्वले महत्त्व दिएको भन्दै आदिवासी जनजातिका संवेदनशीलतालाई बुझेर संस्कृतिसम्बन्धी नीति बनाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पाण्डेले भाषा आयोगको प्रतिवेदनले एक सय ३१ वटा भाषा रहेको तथ्याङ्क प्रस्तुत गरेको छ भन्दै देशभरका विभिन्न निकायले भौतिक सम्पदा र अभौतिक सम्पदालाई जोगाउनुपर्छ भन्नेमा जोड दिए ।

कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ शेर्पाले नेपालमा रहेका १२४ जातजातिको भाषा, धर्म, संस्कृति, सभ्यता, संस्कार र पहिचानलाई संरक्षण गर्न राज्यको नीतिगत व्यवस्था तयार गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *