भद्रपुरका किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

झापा । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक/एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।

एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

उनका अनुसार ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।“यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्छ”, उनले भने, “यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ ।”

नगरले वितरण गरेको १२ हजार थान ‘सिड टे«’मा एक पटक बिउ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *