भक्तपुर। धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा श्रावण १ गते अर्थात आजदेखि श्रावणी मेला सुरु भएको छ। ३८ दिनसम्म चल्ने मेलामा सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सजताका लागि व्यवस्थि दर्शनको व्यवस्था मिलाएको संरक्षण तथा विकास समितिले जनाएको छ।
भिडभाड अधिक हुने भएकाले ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानीलगायतको बन्दोबस्ती मिलाएको अध्यक्ष धर्मराज बस्नेतले बताए। यो बर्षको मेलामा ४० लाख भन्दी बढी भक्तजनहरुले मन्दिरमा पूजाआजा गर्नुका साथै दर्शन गर्ने अनुमान गरिएको छ।
गत बर्ष पनि यतिकै हाराहारीमा भक्तजनहरु आएका थिए। अहिलेको मेलामा २ करोड बराबरको रकम संकलन हुने जनाइएको छ। श्रावण १ गते विहान डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३८ दिने मेलाको शुरुवात गरिएको हो। मेलामा करिब २५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। मेला भाद्र ६ गतेसम्म लाग्नेछ। अहिले दर्शनार्थीको भिड लाग्न थालेको छ।
मन्दिर परिसरमा दर्शनार्थीको भिड बढ्ने भएकाले मेला व्यवस्थापनव्यवस्थित, सुरक्षित र सव्य बनाउन विभिन्न उप समिति गठन गरिएको हरिशरण लामिछानेले बताए। मेलालाई भव्य बनाउन संघसंस्था, टोल सुधार समिति र महिला समूहहरुसँग समन्वय गरिएको छ।
मेलाभर विभिन्न मितिहरुमा धार्मिक प्रवचन र भजनकीर्तनको आयोजना गरिनेछ। साउन ३, ५, १०, १२, १७, १९, २४, २६, ३१ गते तथा भदौ ६ गते विभिन्न धर्मगुरु र कलाकारहरुद्वारा कार्यक्रम प्रस्तुत हुनेछन्। भदौ ६ गते सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा मेलाको समापन गरिनेछ।
मन्दिर परिसरमा सिसीटिभी जडान गरिएको छ भने शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी परिसर, जगाती प्रहरी वृत्त र डोलेश्वर प्रहरी चौकीबाट प्रहरी खटाइने छ। ट्राफिक व्यवस्थापनका लागि सल्लाघारी ट्राफिक प्रहरीको सहयोग लिइएको छ।
दर्शनार्थीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन रणशेर गण र विभिन्न अस्पतालहरुसँग समन्वय गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
साथै, भक्तजनलाई सहज सेवा पुर्याउन स्वयंसेवक परिचालन गरिएको अध्यक्ष बस्नेतले बताए। केदारनाथको शिरको रुपमा २०६६ सालमा घोषणा भएपछि डोलेश्वर महादेवको धार्मिक गरिमा झनै बढेको छ। साउन महिनाभर लाखौं भक्तजन डोलेश्वर पुग्ने गर्छन्।
