ब्रेक्जिटपछिको पहिलो सम्मेलनमा घनिष्ठ सम्बन्ध कायम गर्न बेलायत–इयु तयार

लन्डन । पाँच वर्षअघि युरोपेली सङ्घ (इयु) बाट बेलायतको विवादास्पद बहिर्गमनपछि नयाँ अध्याय खोल्दै बेलायती प्रधानमन्त्री किर स्टार्मर सोमबार एक ऐतिहासिक सम्मेलनमा इयुसँग घनिष्ठ सम्बन्धका लागि सम्झौता गर्ने तयारीमा छन् । इयुका कूटनीतिज्ञहरूले सोमबार मुख्य अड्चन विन्दुहरूमा मतभेदहरू समाधान गर्न रातभर वार्ता गरेपछि बेलायतसँगको सम्बन्ध पुनःस्थापित गर्ने सम्झौतामा पुगेको बताएका छन् । इयुका सदस्य राष्ट्रहरूले हस्ताक्षर गर्न विशेष गरी रक्षामा र अन्तिम क्षणको सफलतापछि माछा मार्ने अधिकारको जटिल मुद्दामा तीनवटा पाठलाई अनुमोदन गरेका थिए । स्टार्मरले आफ्नो युरोपेली छिमेकीहरूसँग बेलायतको घनिष्ठ सम्बन्धका लागि जोड दिएका छन् । बेलायतको अघिल्लो कन्जर्भेटिभ सरकारसँग वार्ता गरिएको इयु सम्झौताले ‘कसैका लागि पनि काम गरिरहेको छैन’ भन्ने लेबर सरकारको तर्क छ । तर गत जुलाईको आम चुनावमा कन्जर्भेटिभ पार्टीलाई सत्ताच्यूत गरेर सत्तामा आएका स्टार्मरले आफूले थुप्रै लक्ष्मण रेखा पार नगर्ने बताएका छन् । युरोपेली सङ्घका केही मागमाथि अड्चन विन्दुहरू बाँकी छन् र कन्जर्भेटिभहरूले पहिले नै रिसेट कदमलाई ‘आत्मसमर्पण’ का रूपमा आलोचना गरिरहेका छन् । वार्ताको नजिकको एक स्रोतले भनेको छ, “हिजो राति ढिलो सफलता, (र) अझै कदम चाल्न बाँकी छ ।” स्टार्मर र इयु नेताहरू उर्सुला भोन डेर लेयन, एन्टोनियो कोस्टा र मुख्य कूटनीतिज्ञ काजा कल्लास बीच सोमबारको बैठकको मुख्य आकर्षणमा दुई पक्षले ‘सुरक्षा र रक्षा साझेदारी’ मा हस्ताक्षर गर्नेछन् । इयु–बेलायत नेताहरूको शिखर सम्मेलनबाट युरोपेली एकताको संयुक्त वक्तव्य र व्यापारदेखि माछा मार्ने र युवा गतिशीलताका विषयहरूमा साझा समझदारीसहित सोमबार दुई अन्य कागजात अपेक्षित छन् । कूटनीतिज्ञहरूका अनुसार अन्तिम सम्झौताअन्तर्गत बेलायतले सन् २०२६ मा वर्तमान सम्झौता समाप्त भएपछि युरोपेली मछुवाहरूका लागि १२ वर्षसम्म आफ्नो पानी खुला राख्नेछ । यसको बदलामा २७–राष्ट्रको ब्लकले बेलायतबाट खाद्यान्न आयातमा अनिश्चितकालका लागि बन्देजलाई खुकुलो पार्नेछ । युवा गतिशीलताको विषयमा वार्ताकारहरू पछिको सम्झौताका लागि सामान्य शब्दावलीमा सहमत भए । यो मुद्दा तनावको अर्को मुख्य स्रोत हो । कुनै पनि युवा गतिशीलता योजनाले इयु र बेलायत बीच आवागमनको स्वतन्त्रतामा फर्कन सक्छ भन्ने लन्डनलाई डर छ । – रुस र ट्रम्पको छाया – इयु र बेलायत रुसको खतराको सामना गर्न र राष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत संयुक्त राज्य अमेरिकाले अब युरोपको रक्षा गर्न मद्दत गर्दैन भन्ने डरका बीच पुनः हतियार दौडमा रहेका बेला वार्ताहरू भइरहेका छन् । यसको अर्थ थप नियमित सुरक्षा वार्ता, बेलायतले इयुका सैन्य मिसनहरूमा सामेल हुने विचार र लन्डनले इयु ब्लकबाट स्थापित एक खर्ब ५० अर्ब युरो (एक खर्ब ६७ अर्ब डलर) रक्षा कोषमा पूर्ण पहुँच पाउने सम्भावना हुनेछ । तर यो सम्झौताले पछि भरिने धेरै विवरणहरू छाड्ने अपेक्षा गरिएको छ । उदाहरणका लागि बेलायत र यसको रक्षा उद्योगलाई इयु कार्यक्रमहरूमा निर्बाध पहुँच दिने थप सम्झौताको आवश्यकता पर्दछ । सुरक्षा सम्झौतामा पुग्नु वार्ताकारहरूका लागि सबैभन्दा कम झन्झटिलो कामका रूपमा लामो समयदेखि हेरिएको थियो किनकि बेलायतको पहिले नै नाटोमा २३ इयुका देशहरूसँग अन्तरसम्बन्धित रक्षा सम्बन्धहरू छन् । स्टार्मरले इयु भन्सार सङ्घ र एकल बजारमा पुनः प्रवेश गर्न अस्वीकार गरेका छन् तर खाद्य र कृषि उत्पादनहरूमा इयुसँग मिल्न तयार देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *