बुल्गेरियाले सन् २०२६ देखि युरो मुद्रा अपनाउने, युरोपेली सङ्घको स्वीकृति

युरोपेली संघ (ईयू) ले बुल्गेरियालाई सन् २०२६ जनवरी १ देखि युरो मुद्रा अपनाउन स्वीकृति दिएको छ। यो निर्णयसँगै बुल्गेरिया ‘युरोजोन’ मा प्रवेश गर्ने २१औं देश बन्नेछ।

युरोपेली आयोगले बुधबार दिएको निर्णयमा बुल्गेरियाले युरो अपनाउनका लागि आवश्यक सबै कडा आर्थिक मापदण्डहरू पूरा गरेको भनिएको छ। युरोपेली केन्द्रीय बैंकले पनि सकारात्मक प्रतिक्रिया दिँदै बुल्गेरियाको ‘आवश्यक समायोजनहरूमा देखिएको गहिरो प्रतिबद्धता’ को प्रशंसा गरेको छ।

बुल्गेरियाका प्रधानमन्त्री रोसेन जेल्याज्कोभले यसलाई ‘एक ऐतिहासिक र गर्वको दिन’ भन्दै स्वागत गरे। यद्यपि सबै नागरिक भने यस निर्णयबाट सन्तुष्ट देखिएका छैनन्। देशभित्र युरोको विरोधमा जनभावना चर्किएको छ। पछिल्ला सर्वेक्षणहरूमा करिब आधा जनसङ्ख्याले युरो लागू गर्नु उचित नहुने बताएका छन्। उनीहरू मूल्यवृद्धि, आर्थिक अस्थिरता र राष्ट्रिय स्वाधीनता गुम्ने डर व्यक्त गरिरहेका छन्।

बुल्गेरियाको युरो प्रवेश यात्रा सजिलो भने रहेन। विगत तीन वर्षमा सातवटा संसदीय निर्वाचनको सामना गरेको देशले राजनीतिक अस्थिरता, मुद्रास्फीति र आर्थिक चुनौतीहरूको सामना गर्दै आएको थियो।

यसअघि देशले आवश्यक मापदण्डहरू मध्ये सबै पूरा गरे पनि मुद्रास्फीति दर अत्यधिक रहेकाले युरो सदस्यता रोकिएको थियो। तर पछिल्लो १२ महिनामा देशको औसत मुद्रास्फीति दर २ दशमलव ७ प्रतिशत पुगेको छ, जुन युरो क्षेत्रको सन्दर्भ मूल्यभन्दा कम हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *