काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि पनि सान्दर्भिक भएर गएको बताएका छन् ।
बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतीको आधार बिपी’ विषयक अन्तक्र्रियामा उनले बिपीको विचारमा अहिले मुलुक अगाडि बढिरहेको बताएका हुन् ।
“बिपीको विचारलाई कांग्रेसले छोड्यो भन्ने यत्रतत्र सुनिन्छ, तर कांग्रेसले बिपीको विचार छाडेको छैन, आज पनि मुलुक बिपीको प्रजातान्त्रिक समाजवादकै बाटोमा अगाडि बढेको छ”, उनले भने । डा कोइरालाले बिपी कोइरालाको अन्तरराष्ट्रिय छवि राम्रो भएको बताए ।
नेता डा कोइरालाले कुलिङ अफ पिरियडको विषयमा कांग्रेस सभापतिले ‘टेक एन्ड पे’ हटाउन पहल गरेजस्तै अडान लिनुपर्ने उल्लेख गरे । उनले बिपी कोइराला विचारमा अडिग नेता भएको बताए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिन्न पृष्ठभूमिबाट निर्माण भएको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताए । उनले सरकारले कुलिङ पिरियडलाई तत्काल सच्याउनुपर्ने बताए । महामन्त्री शर्माले भूमि विधेयकलाई सरकारले हतार गर्न नहुने उल्लेख गरे ।
उनले दुई दलबीच सरकार सञ्चालनका क्रममा भएका विमतीलाई बहस, छलफल र संवाद गरेर टुङ्याउनुपर्ने उल्लेख गरे ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतामा बिपी कोइरालाको विचार अन्तरनिहित भएको बताए । देश र जनता बलियो हुनुपर्छ भन्ने मान्यता बिपीमा भएको उनको भनाइ थियो ।
सहमहामन्त्री डा महतले आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिक पुग्नुपर्छ भन्ने मान्यता कोइरालामा भएको उनले बताए । उनले कांग्रेस र एमालेबीच सरकार गठनका लागि भएको सहमतिअनुसार संविधान संशोधनलाई चाँडो कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरे ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको लोकतान्त्रिक राजनीतिकको जग बिपी कोइरालाले निर्माण गरेको बताए । नेपाली समाजवादको आधार र बहुदलवाद बिपी कोइरालाले सुरु गरेको उहाँको भनाइ थियो । नेपालको राजनीतिको इतिहास भनेको नेपाली कांग्रेसको इतिहास भएको मन्त्री पौडेलले बताए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्न सकेमात्र देश विकासले गति लिने बताए । बिपी स्मृति अस्पतालका अध्यक्ष उमेशजङ्ग रायमाझी नेपालको राष्ट्रनायक बिपी कोइराला भएको बताए । उनले बिपी कोइरालालाई शिक्षा, स्वास्थ्य, साहित्यलगायतका क्षेत्रबाट सँधै स्मरण गर्दै आएको उल्लेख गरे ।
