बागमतीका मेयर थापाको चौथो मुद्दामा पनि मागियो धरौटी

काठमाडौं । विशेष अदालतले बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतकुमार थापासँग ३ लाख धरौटी माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध ५६ करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँबर र न्यायाधीश रामबहादुर थापाको इजलासले निलम्बित मेयर थापालाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

थापाविरुद्ध वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन गरी परेको खाण्डोमा संघीय सरकार, प्रदेश सरकारलगायतबाट अनुदान लिएर माछा पालन पोखरी बनाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको आरोप छ ।
बागमती नगरपालिकाको वडा नं.४ र १२ मा वन क्षेत्र अतिक्रमण गरी ‘वन क्षेत्रमा अतिक्रमण गरी ढुङ्गा, गिटी, माटो, बालुवा आदि वनपैदावार गैरकानुनीरुपमा उत्खनन गरी परेको खाल्डोमा माछा पोखरी निर्माणको नाममा संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानुनी तवरमा पोखरीसमेतका संरचनाहरु निर्माण गरे गराएको देखिएको अख्तियारको दाबी छ ।

निलम्बित मेयर थापाले मन्त्रिपरिषद्को स्वीकृतिविना वन क्षेत्रमा विकासका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नमिल्नेमा कानुनले प्रतिबन्ध लगाएको कुरालाई जानीबुझी अनदेखा गरी बद्नियतपूर्ण तवरले झुठा तथा गलत लिखत तयार गरी राज्यलाई हानी नोक्सानी पुर्याएको अख्यिारतको आरोप छ । अख्यितारले मेयर थापाविरुद्ध दायर गरेको यो चौथो भ्रष्टाचार मुद्दा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *