बाँस प्रवर्द्धनमा जुटेका नगर प्रमुख सत्याग्रहमा

खोटाङ । यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि सत्याग्रह सुरु गरेका छन् । उनले बाँसजन्य सामग्रीको प्रवर्द्धनसहित सात बुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका हुन् ।

उनका मागहरुमा स्थानीयस्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदा छन् । बाँसका सामग्री तथा स्थानीयस्तरमा उत्पादन हुने थोकवस्तुको प्रवर्द्धन गर्न सरकार समक्ष नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह सुरु गरेको नगर प्रमुख भट्टराईले बताए ।

शान्तिपूर्णे सत्याग्रहले माग पूरा नभएमा यही साउनको १४ गतेदेखि आमरण अनसन बस्ने तयारी उनको छ । बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको थियो । पशुपतिमा कपाल मुण्डन गरेपछि उहाँ खाली खुट्टा हिँडेर सिंहदरबारको दक्षिण ढोका पुगेका थिए ।

त्यसपछि माइतीघर मण्डला पुगेका नगर प्रमुख भट्टराईले बाँसका सामग्री प्रदर्शनसँगै सत्याग्रह सुरु गरेका हुन् । नगर प्रमुख भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर यही साउन ४ गते काठमाडौँ गएका थिए । यसअघि आन्दोलनकै कार्यक्रमअनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरुलाई बाँसका कुर्सी र टेबल उपहार दिएका थिए ।

भट्टराईले सत्याग्रह घोषणा गर्नुभएपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ । नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित गत फागुनमा तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ गरेको थियो ।

सो घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *