बाँकेमा एक हजारभन्दा बढीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा एक हजार १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरेको छ ।

कोहलपुर नगरपालिका–१ मा विभिन्न चरणमा गरी उनीहरूलाई जग्गा धनी प्रमाणपूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।

उनका अनुसार तीमध्ये आठ सय ९६ जना अव्यवस्थित बसोबासी र एक सय १७ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासी रहेका छन् । अव्यवस्थित बसोबासीले बढीमा रु पाँच लाखसम्म राजस्व तिरेर र सबैभन्दा कम रु १२ हजारसम्म राजस्व तिरेर जग्गाको जग्गाधनी प्रमाणपूर्जा लिएको उनको भनाइ छ ।

“अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकालाई लालपूर्जा वितरण जारी छ”, अध्यक्ष खनालले भने ।

उनका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४,  बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएर पूर्जा वितरण अघि बढाइएको छ ।

जिल्लाको राप्तीसोनारी ३, ५, ७ र ९, बैजनाथ ७  र ६, खजुरा ४ र ५  नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा सकेर पुर्जा वितरण सुरु गर्न थालिएको अध्यक्ष खनालले बताए । राप्तीसोनारी–१,  बैजनाथ–१, जानकी–४, नेपालगञ्ज–१८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ ।

रैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण सुरु हुन लागेको आयोगले जनाएको छ । त्यहाँ थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपूर्जा वितरणका लागि तयारी छ ।

आयोगका अनुसार बाँकेमा हालसम्म ५३ हजार सात सय पाँच जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने छ । जसमध्ये आठ हजार तीन सय निकुञ्ज क्षेत्रभित्रका छन् ।

आयोगले जारी गरेको दोस्रो र तेस्रो सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको आयोगका अध्यक्ष खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *