सुर्खेत । हरेक वर्ष बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ।
सरकारले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बनाएको ७१ बुँदे मार्गदर्शन अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका एक करोडभन्दा माथिका आयोजना र अन्य मन्त्रालयका ५० लाख भन्दा माथिका आयोजनाको भदौ मसान्तभित्र ठेक्का गरिसक्नुपर्नेछ।
योसँगै समपूरक र विशेष अनुदानका स्रोतबाट सञ्चालित हुने आयोजनाहरूको ठेक्का पत्रको सूचना साउन मसान्तभित्र आह्वान गरिसक्ने गरि असार २५ गते नै क्यालेन्डर बनाएर कार्यान्वयनका लागि सबै मन्त्रालयमा पठाइएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए।
चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक विकास कार्यक्रम अन्तर्गत प्रदेशबाट कार्यान्वयन गरिने आयोजना जिल्लास्थित कार्यालयबाट सम्बन्धित स्थानीय तहलाई आयोजनाको नाम र विनियोजित रकमसहितको विवरण पठाइएको सकिएको मुख्यमन्त्री कँडेलले बताए।
सरकारले ठेक्का भई हाल कार्यान्वयनमा रहेका आयोजनाको कार्यभार साउनबाट नै गर्नेगरी सम्बन्धित निर्माण व्यवसायीलाई पत्राचार गरिसकेको उनको भनाइ छ
विगत आर्थिक वर्षबाट निरन्तरता दिइएका कार्यक्रम कार्यान्वयनका लागि कार्यविधिमा परिमार्जन गर्नुपर्ने भए भदौ मसान्तभित्र ती कानुनहरूको मस्यौदा तर्जुमा गर्ने र अबण्डाका रूपमा रहेको रकम बाँडफाँटका लागि भदौ मसान्तभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ।
अर्को वर्षका लागि स्रोत सुनिश्चितता गर्नुपर्ने वा बहुवर्षीय योजना बनाउनुपर्ने भएमा त्यसको अभिलेख र स्टिमेटसहित साउन महिनाभित्र सम्बन्धित मन्त्रालय हुँदै प्रदेश योजना आयोगमा बुझाउनु पर्नेछ व्यवस्था गरिएको छ।
वर्ष फेरिने वित्तिकै कार्यविधि फेर्ने विगतको परम्पराको अन्त्य गरि विनियोजन ऐन मै नयाँ कार्यविधि बनाउन नपर्ने व्यवस्था गरेकाले चालू आर्थिक वर्षको सुरु देखिनै कार्यक्रम र बजेट कार्यान्वयन गर्न हुने मुख्यमन्त्री कँडेलले बताए।
