काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महसुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ।
विद्युत् महसुल बक्यौता नतिर्ने जगदम्बा स्टिल, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।
डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल उठाउने विषय २०७५ सालयता सुल्झिन सकेको छैन। प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलो पटक डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौताबारे अध्ययन भई २०७५ वैशाख ३१ गते बसेको सञ्चालक समितिमा पेश भएको थियो। त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ।
उद्योगी व्यवसायीहरूले भने आफूहरूले डेडिकेटेड र ट्रंक लाइन प्रयोग नै नगरेकाले त्यसको महसुल नतिर्ने बताउँदै आएका छन्। यो विषय विभिन्न अदालत, संघीय संसदको सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो।
पछिल्लो पटक प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगलाई २१ दिनभित्र बक्यौता बुझाउन आउन भनेको थियो। किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महसुल संकलन नियमावली २०७८ अनुसार लाइन काटिएको जनाएको छ।
डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत् उपभोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत् महसुल बक्यौता रहेका ग्राहकहरूलाई प्रशासकीय पुनरावलोकनका लागि २०८२ जेठ मसान्तभित्र निवेदन दिन सक्ने म्याद कायम गरी २०८२ वैशाख २६ र वैशाख ३० मा सूचना प्रकाशित भएको थियो।
गत असोज १० गते बसेको प्राधिकरणको सञ्चालन समितिले प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही बदर गर्ने निर्णय गरेको थियो।
