फिलिपिन्सबाट फर्किएका ‘डाक्टरसापहरु’ अलपत्र, गैरकानुनी मान्यता दिन चलखेल

काठमाडौं । फिलिपिन्समा एमबिबिएस अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थी अलपत्र परेका छन् । नेपाल मेडिकल काउन्सिलमा सूचीकृत नभएका विश्वविद्यालयबाट अध्ययन गरि फर्केका विद्यार्थी लाइसेन्स परीक्षामा सहभागी हुन नपाएपछि अलपत्र परेका हुन् ।

केही शैक्षिक कन्सल्टेन्सीको प्रलोभनमा परेर फिलिपिन्स पुगेका विद्यार्थी त्यहाँको कोर्ष पुरा गरी यही बर्ष फर्किएका थिए । फर्किएर नेपाली मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिन पुगेका विद्यार्थीलाई क्रेडिट आवर नपुगेको भन्दै काउन्सिलले अयोग्य ठहर गरेको छ । काउन्सिलले १ बर्ष ६ महिनाको प्रि-मेडिसिन कोर्ष अध्ययन गर्नुपर्ने प्रावधान विपरित १ बर्षमात्र अध्ययन गरेको तथा इन्टर्नसिप पनि पुरा नगरेको भन्दै परीक्षामा सहभागी नगराएको हो ।

नेपालमा १ बर्ष ६ महिना प्रि-मेडिसिन, ४ बर्ष मेडिसिन र १ बर्ष इन्टर्नसिप गरेर एमबिबिएस पास गरेपछि लाइसेन्सको परीक्षामा बस्न पाइन्छ । फिलिपिन्समा १देखि ३ बर्ष प्रि-मेडिसिन, ४ बर्ष मेडिसिन र १ बर्ष इन्टर्नसिप गरी ७–८ बर्षको कोर्ष अध्ययन गर्नुपर्ने कानुनी व्यवस्था छ । फिलिपिन्सको कमिसन अफ हाइअर एजुकेशन (सीएचइडी) ले १ बर्षको प्रि-मेडिसिन कोर्षलाई मान्यता दिएको छैन । विदेशी विद्यार्थीका लागि अध्ययनको अनुमति दिएको भएपनि त्यही देशका विद्यार्थीलाई अनिवार्य २ बर्ष प्रि-मेडिसिन कोर्ष गर्नुपर्ने कानुनी व्यवस्था छ ।

फिलिपिन्सको southwestern university, phinma बाट फर्किएका विद्यार्थीले १ बर्षको मात्र प्रि-मेडिसिन कोर्ष गरेका छन् । विश्वविद्यालयले ट्राई सेमिस्टरमा अध्ययन गराउन थालेपछि १ बर्ष ६ महिनाको कोर्ष १ बर्षमै सकिएको विद्यार्थीले बताएका छन् ।

‘साउथ वेस्टर्न विश्वविद्यालय, फिनामाले प्रि-मेडिसिन कोर्षलाई ट्राइसेमिस्टरमा सेमिस्टरमा मोडेलमा अध्ययन गराउन थालेको छ । त्यहाँ ४ महिनाको एउटा सेमिस्टर हुन्छ । नेपालमा ६ महिनाको एउटा सेमिस्टर हुन्छ ।’, नाम उल्ललेख नगर्ने सर्तमा ति विद्यार्थीले भने, ‘त्यही सिस्टममा अध्ययन गर्दा ६ महिना कम देखिएको हो । क्रेडिट आवर र कोर्षमा कुनै तलमाथि गरिएको छैन ।’

यता नेपाल मेडिकल काउन्सिलले १ बर्ष प्रिमेडिकल कोर्ष गरेका विद्यार्थीलाई परीक्षामा सहभागी गराउन नसकिने निर्णय गरेको छ । भदौ १२ गते बसेको काउन्सिलको पूर्ण बैठकले फिलिपिन्स लगायतका बि.एस (बायोलोजी) अध्ययन पश्चातमात्र एमडी, एमबिबिएस अध्ययन गर्न मिल्ने मुलुकबाट १ बर्ष बि.एस बायोलोजी मात्र अध्ययन गरेको विद्यार्थीको कोर्षलाई मान्यता नदिने निर्णय गरेको छ ।

बोर्डको यो निर्णय विपरित शैक्षिक कन्सल्टेन्सीका केही व्यक्तिहरुले काउन्सिलका पदाधिकारीलाई प्रभावमा पारेको आरोप लागेको छ । यो आरोपको काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले खण्डन गरेका छन् ।  कमर्चारीले २० लाख घुस लिएर काम गरिदिने वचन दिएको आरोप छ नी भन्ने प्रश्नमा उनले भने, ‘…तपाईंले गम्भीर प्रश्न उठाउनुभयो । तपाईंले गहिरिएर अनुसन्धान गर्नुहोस् । म हाम्रो संयन्त्रमा पनि बुझौंला । विद्यार्थी समस्यामा परेका छन् । हामीलाई थाहा छ । तर यो समस्यालाई समाधान गर्न भन्दा प्रभावमा पार्न खोज्दा समस्याले झनै ठूलो रुप लिन्छ ।’

डा. भुसालले फर्किएका ५०/६० जना विद्यार्थीका बारेमा के गर्ने भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय पर्खिरहेको बताएका छन् । ‘उहाँहरुलाई केही निकास त दिनुपर्छ । ६/७ बर्ष पढेर आएको छ, पैसा पनि खर्च भएको छ । हामीले केही सोचेका छौं ।’, उनले भने, ‘केही समयका लागि नेपालकै अस्पताल वा मेडिकल कलेजमा ट्रेनिङ गराउनेकी भनेर सोचिरहेका छौं । मन्त्री ज्यूले के निर्णय गर्नुहुन्छ हेरौं ।’ भुसालले नेपालले मान्यता दिएका कलेजमा गएर अध्ययन गर्ने विद्यार्थीलाई समस्या नभएको बताए ।

काउन्सिलले नेपालमा ट्रेनिङ गराउने भनेपनि विद्यार्थी ट्रेनिङ गर्न तयार छैनन् । ‘हामीलाई अहिले परीक्षामा बस्न नदिने भए पहिला एलओआई किन दिइयो । हामीलाई एनओसी किन दिइयो ?’, विद्यार्थीको प्रश्न छ, ‘फेरि ट्रेनिङ गर्नुपर्ने ? यो हुँदैन ।’ विद्यार्थीले थप ट्रेनिङ गर्दा पैसा तिर्नुपर्ने भएकाले अस्वीकार गरेका छन् । ‘एउटा पत्र बनाउन ५ हजार रुपैयाँ तिर्नुपर्छ । कागज र मसिको पैसा ५ हजार पर्ने काउन्सिलमा ट्रेनिङ गराउँदा कति तिराउने हो ?’, अर्का एक विद्यार्थीले भने, ‘हामी ट्रेनिङ वा इन्टर्नसिप निशुल्क हुनुपर्छ भन्ने चाहन्छौं । तर काउन्सिल १० देखि १५ हजार प्रतिमहिना पैसा उठाउने दाउमा छ ।’

उता विश्वविद्यालयले विद्यार्थीका लागि लेखेको पत्रमा सम्पूर्ण कोर्ष पुरा गरेको जनाएको छ । साउथ वेस्टर्न विश्वविद्यालयले विद्यार्थीलाई दिएको पत्र अनुसार विद्यार्थीले कोर्ष पुरा गरी परीक्षासमेत पास गरेको उल्लेख गरेको छ । फिलिपिन्सका पाँच विश्वविद्यालयलाई मात्र नेपालमा एमबिबिएस, एमडी लगायतका कोर्ष अध्ययनका लागि अनुमति दिएको छ । पाँच बाहेक अरु विश्वविद्यालयमा गरिएको अध्ययन गर्दा समस्या आइरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *