ढाका । बङ्गलादेशको युद्ध अपराध अदालतले सोमबार फरार पूर्व नेता शेख हसिनालाई मानवता विरुद्धको अपराधको आरोपमा मुद्दाको सामना गर्न फर्कन आदेश दिएको छ ।
सतहत्तर वर्षीया हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जन विद्रोहको चरमोत्कर्षमा हेलिकप्टरबाट ढाका छोडेर भारत भागेकी थिइन् । उनले बङ्गलादेश फर्कने प्रत्यर्पण आदेशको अवहेलना गरेकी छिन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले सत्तामा टिकिरहने असफल प्रयासमा दमनकारी कारबाही सुरु गर्दा सन् २०२४ जुलाई र अगस्टको बीचमा एक हजार चार सय जनासम्मको मृत्यु भएको थियो ।
हसिना र उनको पदच्यूत सरकार र उनको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग जोडिएका पूर्व वरिष्ठ व्यक्तित्वहरूमाथि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा मुद्दा चलाइएको छ ।
अभियोजकहरूले हसिनाविरुद्ध उक्साहट, उत्प्रेरणा, संलग्नता, सहजीकरण, षड्यन्त्र र सामूहिक हत्या रोक्न असफलता सहित पाँच आरोप दायर गरेका छन् । ती आरोप बङ्गलादेशी कानूनअनुसार मानवता विरुद्धको अपराधसम्म पुग्छन् ।
“अदालतले अभियोजन टोलीलाई यथाशीघ्र अदालतमा उपस्थित हुन बोलाउने सूचना जारी गर्न निर्देशन दिएको छ”, मुख्य अभियोजक मुहम्मद ताजुल इस्लामले सोमबार भने ।
हसिना फर्किन असफल भएमा जुन २४ मा उनको अनुपस्थितिमा मुद्दा सुरु हुनेछ ।
हसिनाले गृह मन्त्रालय र प्रहरीका निर्देशनहरूमार्फत सुरक्षा बलहरूलाई प्रदर्शनहरू दबाउन आदेश दिएको थियो भन्ने अभियोजनको तर्क छ ।
हसिनामाथि अन्य दुई अधिकारीसँगै मुद्दा चलिरहेको छ ।
तीमध्ये एक, पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल छन् । उनीमाथि समान आरोपहरू छन् । उनी पनि फरार छन् ।दोस्रो, पूर्व प्रहरी प्रमुख चौधुरी अब्दुल्लाह अल मामुन हिरासतमा छन् र सोमबार उनी अदालतमा उपस्थित भएको थियो ।
हसिना सरकारका वरिष्ठ व्यक्तिहरूको अभियोजन अहिले सत्ताका लागि सङ्घर्ष गरिरहेका धेरै राजनीतिक दलहरूको प्रमुख माग हो ।
अन्तरिम सरकारले सन् २०२६ अप्रिलमा चुनाव गराउने बताएको छ । यद्यपि केही दलले पहिले मतदानका लागि दबाब दिइरहेका छन् ।