काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।
भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिसका लागि समिति बनेको छ । तर, उक्त समितिले दुई वटा आयोगमा पदाधिकारी सिफारिस गर्न सकिरहेको छैन ।
पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित समितिले पदाधिकारी सिफारिसप्रति द्वन्द्वपीडित समुदायहरुले प्रश्नसमेत उठाइरहेका छन् । भेटमा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन पनि सहभागी थिए ।