काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी दिएका हुन्।
कार्यक्रममा उनले कुलमान घिसिङ एउटा समुदायको मात्र नभई सिंगो देशको नेतृत्वकर्ता भएको हुनाले पनि आफूहरुले सहकार्य गरेको बताए। प्रधानमन्त्रीको उम्मेद्वारको लागि कुलमान घिसिङको विकल्प अरु कुनै नरहेको पनि उनको दावी छ।
उनले भने, ‘कुलमान घिसिङ एउटा समुदायको मात्र मानिस होईन्। उहाँ देशको सिंगो नेतृत्वकर्ता हो। एउटा रानो बसेको ठाउँमा मौरीहरु गएर बसेको जसरी उहाँको वरिपरी सबै भइदिए हुन्थ्यो भन्ने कुरा सबैको आएको कारण नै हाम्रो एकता भएको हो। रहर गर्ने कुरा स्वभाविक होला। तर के हो भने कुलमान घिसिङ जस्तो प्रधानमन्त्रीको उम्मेद्वार अरु कुनै हुन सक्दैन्। कुलमान घिसिङले नेतृत्व गर्नुहुन्छ। यो बेलामा कुलमान घिसिङको विकल्प छैन्। यो बेला कोही रामको अवतार लिएर आउन सक्छ भने त्यो कुलमान घिसिङ नै हो।’
त्यस्तै, उनले तत्काल पार्टी एकता गर्ने कुनै सोच नरहेको धारणा पनि राखे।
