लुम्बिनी । लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका १२ जिल्लामा तीन हजार ८५१ जना गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरेको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आफ्नो कार्यकालको एकवर्षे उपलब्धि आज सार्वजनिक गर्दै मन्त्रालयले क्यान्सर, मुटु र मिर्गौला प्रत्यारोपणलगायत गम्भीर प्रकृतिका रोगको उपचारका लागि बिरामीलाई विशेष आर्थिक सुविधाअन्तर्गत करिब रु १९ करोड प्रदान गरिएको जानकारी दिए ।
मन्त्रालयले गत वर्षदेखि यस्ता सुविधा लिन जिल्ला स्वास्थ्य कार्यालयमार्फत सिफारिस गरिने व्यवस्था लागू गरिएको बताए । यस्तै, प्रदेशअन्तर्गतका सबै अस्पतालमा ५४ प्रकारका सेवा तथा शुल्कमा एकरूपता कायम गरी नागरिक बडापत्र र वेबसाइटमार्फत सार्वजनिक गरिएको र १३ स्थानीय तहमा २६ जना ‘रोभिङ्ग नर्स’ खटाई मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यु न्यूनीकरणसम्बन्धी सेवा तथा परामर्श प्रदान गरिएको जनाइएको छ ।
मन्त्री सारुले सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहलाई आधार मानेर २५ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । उनले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकारले प्रभावकारी कार्ययोजना निर्माण गरेर कार्यान्वयनमा ल्याएको बताए ।
गत आवमा मन्त्रालयले ८६ दशमलव ५१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको र यो प्रगति लुम्बिनी प्रदेश सरकारअन्तर्गत सबै मन्त्रालयहरूमा सर्वोत्कृष्ट मानिएको मन्त्री सारुको भनाइ थियो । बुटवलमा निर्माणाधीन एक हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको गत भदौ १५ मा शिलान्यास भई हालसम्म २७ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिइयो ।
निर्माणाधीन अस्पताल भवनलाई समयमै सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कुनै कमी नहुने गरी काम गरिरहेको मन्त्री सारुको भनाइ थियो । यस्तै, स्वास्थ्य बिमाअन्तर्गत मन्त्रालय मातहतका दुई हजार ६४ कर्मचारी आबद्ध गर्नुका साथै नौ जिल्लामा मिर्गाैलाको डायलाइसिस सेवा विस्तार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता कायम गरिएको, ३० स्थानीय तहलाई संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको र महिला, बालबालिका तथा किशोरी लक्षित पोषण सुधार कार्यक्रम सबै जिल्लामा सञ्चालन गरिएको पनि जानकारी दिइयो ।
