तेहरान । इरानले एक पुरुषलाई सन् २०२२ मा भएको राष्ट्रव्यापी आन्दोलनका क्रममा सात जनाको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा मृत्युदण्ड दिएको जानकारी न्याय निकायमार्फत सार्वजनिक गरिएको छ । मृतकहरूमा एक १० वर्षे बालक पनि रहेका थिए ।
अब्बास कुर्कुरी नाम गरेका व्यक्तिलाई इजेह सहरमा भएको गोलीकाण्डमा संलग्न भएको ठहर गर्दै न्यायिक प्रक्रियाबाट मृत्युदण्डको सजाय दिइएको हो । सो आन्दोलन महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो ।
अमिनी एक इरानी कुर्द युवती थिइन्, जसलाई महिला पहिरनसम्बन्धी कडा नियम उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो ।
उक्त मुद्दा दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको राजधानी अहवाजस्थित क्रान्तिकारी अदालतमा विचाराधीन थियो । अदालतले सुनाएको निर्णय सर्वोच्च अदालतबाट सदर भएपछि कुर्कुरीलाई मृत्युदण्ड दिइएको हो, न्यायिक निकायको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।
अदालतले उनलाई ‘पृथ्वीमा व्यापक हानी पुर्याउने कार्य’ तथा ‘ईश्वरविरुद्ध संघर्ष गर्ने’ जस्ता गम्भीर आरोपमा दोषी ठहर गरेको बताइएको छ ।
उनीमाथि सर्वसाधारणलाई त्रसित तुल्याउने उद्देश्यले हतियार प्रदर्शन गरेको, सैनिक हतियारको प्रयोग गरी ज्यानमारा कार्यमा संलग्न भएको र विद्रोही समूहको निर्माण तथा सहभागिताको अभियोग लगाइएको थियो ।
इजेहमा भएको उक्त घटनामा सात जनाको ज्यान गएको थियो, जसमा १० वर्षीय बालक कियान पिरफालक पनि थिए । अधिकारीहरूले उक्त घटनालाई ‘आतङ्कजन्य हमला’ भएको बताएका थिए ।
न्यायिक विवरण अनुसार, अदालतमा कुर्कुरीले आफूमाथि लागेको अभियोग स्वीकार गर्दै, आफू सामाजिक सञ्जालको प्रभावमा परेको बताएका थिए ।
मिजान अनलाइनले उनलाई अघिल्ला वर्षहरूमा पनि सार्वजनिक सुरक्षा भङ्ग गर्ने, गोली चलाउने, सशस्त्र आक्रमण, सम्पत्ति क्षति तथा लागूपदार्थ र रक्सीको अवैध कारोबारमा संलग्न रहेको व्यक्तिका रूपमा वर्णन गरेको छ ।
सन् २०२२ मा सुरु भएको आन्दोलनमा सयौं नागरिक र सुरक्षाकर्मीको ज्यान गएको थियो भने हजारौं व्यक्तिहरू पक्राउ परेका थिए । सो अवधिमा पक्राउ परेका केही व्यक्तिहरूमाथि पनि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ ।
कुर्कुरीमाथि दिइएको सजाय कार्यान्वयन भएको भोलिपल्ट, इरानले सन् २०१८ मा इस्लामिक स्टेट नामक समूहको पक्षमा आक्रमणको योजना बनाएको अभियोगमा नौ जनालाई पनि मृत्युदण्ड दिएको थियो ।
मानव अधिकार क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार, मृत्युदण्ड कार्यान्वयन गर्ने देशहरूको सूचीमा चीनपछि इरान दोस्रो स्थानमा रहेको छ ।