काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ नभई राजनीतिक आन्दोलनको ऐतिहासिक निरन्तरता भएको बताएका छन्।
थापाले हालको राजनीतिक परिस्थिति, जेनजी आन्दोलनपछिको प्रभाव र एमालेको आगामी महाधिवेशन तथा निर्वाचन तयारीबारे विस्तृत धारणा व्यक्त गरेका छन्।
थापाले अहिलेको चुनौतीपूर्ण राजनीतिक अवस्थाबाट देशलाई कसरी निकास दिने भन्ने विषयमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि र बुद्धिजीवीहरूसँग निरन्तर छलफल भइरहेको बताए।
उनका अनुसार,‘हामी राजनीतिक काममै समर्पित छौँ। अहिलेको जटिल परिस्थिति बुझ्न र त्यसको समाधान खोज्न सर्वदलीय र सर्वपक्षीय छलफलमा व्यस्त छु।’ थापाले जेनजी आन्दोलनका माग सही तर दृष्टि अस्पष्ट भएको बताए
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका मागहरू सुशासन, भ्रष्टाचार अन्त्य, ढिलासुस्ती रोकथाम, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रका थिए। यी मागहरूलाई सही र जायज बताउँदै थापाले भने,‘यी विषयहरू अहिलेका युवाले मात्रै उठाएका होइनन्। हामीले राजनीतिक यात्राको सुरुवात नै न्याय, समानता र शोषणमुक्त समाजका लागि गरेको हौँ। तर आन्दोलनले आफ्नो माग स्पष्ट नगरी विध्वंसतिर मोडिँदा देशले अकल्पनीय क्षति बेहोर्नु पर्यो।’
उनका अनुसार, आन्दोलन सकारात्मक ऊर्जा र देश निर्माणको भावना बोकेर सुरु भएपनि अन्ततः हिंसात्मक परिणतिमा पुग्यो, जसले देशको भौतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदामा अभूतपूर्व क्षति पुर्यायो।
यो अवस्था इतिहासकै सबैभन्दा भयानक भएको हो। नेपालले हालै भोगेको विनाशलाई देशको इतिहासकै गम्भीर दुर्घटनामध्ये एक बताउँदै थापाले भने,‘किराँतदेखि मल्लकाल, राणा शासनका कोत पर्व वा अलोक पर्वभन्दा पनि यो अवस्था भयावह भयो। अहिलेको क्षतिको पुनर्निर्माण गर्न मात्रै पनि देशलाई कम्तीमा ५० वर्ष लाग्न सक्छ।’
सबै पुस्ता र दलको एकता जरुरी भन्दै उनले हालको संकट पार गर्न सबै राजनीतिक दल, पुस्ता र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। ‘यदि हामीले यो अवस्थाबाट पाठ सिक्यौं भने योजनाबद्ध र सहकार्यको बाटोले मात्रै देशलाई स्थायित्व र समृद्धितर्फ लैजान सकिन्छ,’ थापाको भनाइ छ।
आउँदै गरेको निर्वाचनमा थापाले नेकपा एमाले आगामी निर्वाचनमा सशक्त तयारीसहित जाने बताएका छन्।
‘यदि सरकारले शान्ति-सुरक्षाको अवस्था सुनिश्चित गर्छ, निर्वाचनका लागि आवश्यक वातावरण तयार गर्छ भने एमाले निर्वाचनमा सहभागी हुन्छ,’ उनले भने, ‘हाम्रो लक्ष्य एमालेलाई पहिलो र बहुमत प्राप्त दल बनाउने हो।’तर उनले वर्तमान सरकारप्रति जनताको विश्वास कमजोर भएको बताए।
‘सरकारको चालचलन, क्षमता र नीतिगत दृष्टिकोणप्रति आम नेपालीमा शंका बढेको छ। सरकारले लोकतान्त्रिक शक्तिहरूलाई विश्वासमा लिएर मात्र यो निर्वाचन सम्भव हुन्छ,’ उनले चेतावनी दिए।
संसद पुनःस्थापना र वैधानिकताको प्रश्नमा संसद विघटन र अन्तरिम सरकार गठनको विषयमा थापाले सर्वोच्च अदालतको फैसलाको प्रतीक्षा गर्नुपर्ने बताए।
‘संविधान अझै जीवित छ तर यसको मर्ममाथि प्रहार भएको छ। यदि संसद पुनःस्थापित भयो भने त्यो सत्ता लम्ब्याउनका लागि होइन, वैधानिकता पुनःस्थापनाका लागि हुनेछ,’ उनले स्पष्ट पारे।
थापाले नवयुवाहरूको भावनालाई प्रतिनिधित्व दिने गरी संसदमा उनीहरूको सहभागिता सुनिश्चित गर्न सकिने पनि सुझाव दिए। ‘२०६२-६३ को आन्दोलनपछि माओवादीलाई अन्तरिम व्यवस्थापिकामा समावेश गरिएको थियो, त्यस्तै अभ्यास अहिले पनि गर्न सकिन्छ,’ उनले भने।
शासन प्रणालीको विषयमा उनले भने,‘संविधान बनाउँदा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको पक्षमा थियो, माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका पक्षमा र कांग्रेसले संसदीय प्रणालीको समर्थन गरेको थियो। अन्ततः सहमतिको आधारमा मिश्रित प्रणाली रोजियो।’
उनका अनुसार, अहिले उठिरहेको प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावले शक्ति एक व्यक्तिमा केन्द्रित गर्ने खतरा बोकेको छ, जसले लोकतन्त्र कमजोर पार्न सक्छ। ‘तानाशाही प्रवृत्ति नबढोस् भनेर देशलाई केन्द्रबिन्दुमा राखेर बहस गर्नुपर्छ, व्यक्तिगत मनोग्रन्थिले होइन,’ उनले जोड दिए।
थापाले भने, ‘हामी सबै दल, युवा पुस्ता, नागरिक समाज र देशभक्त नेपालीहरू एक ठाउँमा उभिएर योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ। त्यसबाट मात्रै निर्धारित समयमा शान्तिपूर्ण निर्वाचन गरी देशलाई स्थायित्व र समृद्धितर्फ लैजान सकिन्छ।’
