प्रचण्डले भने- हामीलाई सभा गर्न भृकुटीमण्डप साँघुरो भयो, खुलामञ्च खोलाैं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले काठमाडौंमा राजनीतिक सभा–सम्मेलन गर्नका लागि तत्काल खुलामञ्च उपलब्ध गराउन काठमाडौं महानगरपालिका र सरकारसँग आग्रह गरेका छन्।

शनिबार भृकुटीमण्डपमा आयोजित पार्टीको एकता सन्देश सभामा उपस्थित जनसागरलाई बस्ने ठाउँ अपुग भएको भन्दै उनले महानगर र सरकारलाई खुलामञ्च खुला गर्न आग्रह गरेका हुन्।

भृकुटीमण्डपको साँघुरो ठाउँमा कार्यकर्ताहरू खाँदिएर बस्नुपरेको र धेरैजसो सडकमा नै रहनुपरेको भन्दै उनले असन्तुष्टि समेत पोखे।

दाहालले देशको राजधानीमा ५०–६० हजारदेखि १ लाख मानिस जम्मा भएर बस्ने एउटा पनि व्यवस्थित मञ्च वा चौर नहुनु राष्ट्रकै लागि अपमान र लज्जाको विषय भएको टिप्पणी गरे।

‘नेपाल देशकै निम्ति यो लज्जाको विषय भएको छ। म सरकार र महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिहरूलाई यो स्थितिको अन्त्य गर्न आग्रह गर्दछु,’ उनले भने, ‘प्रत्येक राजनीतिक दल र सामाजिक संघ–संस्थाका निम्ति राष्ट्रको एउटा खुला मञ्च, समारोह गर्ने स्थल अनिवार्य छ।’

दाहालले आजको सभाका लागि टुँडिखेल वा खुलामञ्च उपलब्ध गराउन पहल गरे पनि सफल नभएको बताए। ‘हामीले सरकार र महानगरसँग टुँडिखेलमा सम्भावना छ कि भनेर पहल गरेका थियौँ, ताकि जनसमुदाय सहज ढंगले बसेर हाम्रो कुरा सुन्ने वातावरण बनोस्, तर हामी सफल हुन सकेनौँ,’ उनले भने।

उनले आफूहरूका लागि मात्र नभई सबै दल र संघ–संस्थाका लागि एउटा निश्चित खुला ठाउँ आवश्यक रहेको भन्दै यसमा गम्भीर बन्न सरोकारवालाको ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *