चितवन । उत्पादित प्याजले बजार नपाएपछि यहाँका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन् ।
भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थालेको बताए । उनले स्टिलको जालीको भकारी बनाएर टेबुल पङ्खाको सहायताले प्याजको भण्डारण गरेका हुन् । उनले भने, मैले सामाजिक सञ्जालमा खोज्दा प्याज भण्डारण गर्नका लागि घरेलु उपाय भेटाएर यसरी भण्डारण गरेको हुँ ।
स्टिलको जाली मुनि पनि जाली बनाएर केही भाग खुला छाडेर खडाइको सहायताले प्याजलाई सुक्खा बनाएर राख्ने गरेको उनले बताए । उनले प्याजलाई विगत तीन महिनादेखि यसैगरी भण्डारण गरेर राखेका छन् । यसो गर्दा प्याजभित्रको तातो हावा बाहिर जाने र चिसो हावाले प्याजलाई बाफिन नदिने हुन्छ । जसका कारण प्याज कुहिने र टुसा पलाउने समस्या नहुने उनको बुझाइ छ ।
प्याज उत्पादन हुने समयमा थोक मूल्य प्रतिकेजी २० परेपछि घाटामा बिक्री नगर्ने योजनासहित आफूले भण्डारणको उपाय अपनाएर काम गरेको उनले बताए । उनले यसरी एक टन प्याज भण्डारण गरेर राखेका छन् । यसलाई अहिले मूल्यमा सुधार आएपछि बजारमा पुर्याउन थालेको उनले बताए । अहिले थोकमा प्रतिकेजी ५० भन्दा बढीपर्न थालेपछि प्याज बिक्री गर्न लागेको शिवकुमारले जानकारी दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्याज बिक्री नभएपछि महतोले भण्डारणको विधि र प्रविधि आफैँले खोजेर भण्डारण गरेका हुन् ।
कार्यालयले चितवनको १० हेक्टर क्षेत्रफलमा व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । अधिकांशले कुहिने समस्या आएपछि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका थिए ।
एकाइका प्रमुख महेश रेग्मीका अनुसार कार्यक्रमअन्तर्गत १३५ टन प्याज उत्पादन भएको थियो । प्याज उत्पादन भएसँगै भण्डारणमा देखिएको समस्या यो विधिले समाधान गर्न सक्ने भएकाले आगामी वर्षको कार्यक्रममा यसलाई समावेश गरिएको उनले बताए । यस कार्यक्रममा सहभागी किसानलाई भण्डारणका लागि यो विधिलाई प्रोत्साहन गर्ने योजनामा एकाइ रहेको उनले बताए ।
कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको थियो ।
