भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई फलफूलको माध्यमबाट आयआर्जनमा जोड्न गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
फलफूलका खेती लागि उपयुक्त भूगोललाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । बजेट नै व्यावस्थापन गरिएकाले आगामी आर्थिक वर्षबाट कार्यक्रम सञ्चालन हुने अध्यक्ष राईले बताए । यो कार्यक्रमार्फत किसानलाई मागको आधारमा भूगोलअनुसारको विरुवा वितरण गरिने अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले यसअघि थालेको अकबरे खुर्सानी खेतीको कार्यक्रम किसानको लागि लाभदायक बनेपछि आगामी वर्षको लागि व्यावसायिक फलफूल खेतीको कार्यक्रम अघि बढाइएको अध्यक्ष राईको भनाइ छ । गतवर्ष अकबरे (डल्ले) खुर्सानीबाट गाउँपालिकामा रु १८ करोड बराबर रकम भित्रिएको उनको भनाइ छ ।
गाउँपालिकमा फलफूल खेतीको अधिकांश उपयुक्त भूगोल रहेकोले यो कार्यक्रम सञ्चालनको तयारी गरिएको अध्यक्ष राईले बताए । यो कार्यक्रम विरुवा रोप्ने मात्र नभएर ‘रोप्ने, हुर्काउने’ अभियानमा केन्द्रीत हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । किसानले बगैँचामा विस्तारको लागि विरुवा माग गरेपछि सुरुदेखी विरुवा नहुर्किएसम्म प्राविधिकले नियमित अनुगमगन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
प्राविधिकले मल लगाउने, हेरचाह गर्ने, रोग किराबाट बचाउने उपायको बारेमा किसानलाई स्थलगत रूपमा नै सेवा दिने उनको भनाइ छ । कुनै कारणले विरुवा मरेमा त्यसकोसमेत तथ्याङ्क कृषि प्राविधिकले राख्ने उनले जानकारी दिए । त्योसँगै विरुवा मर्नुको कारणसमेत पहिचान गरिने उनको भनाइ छ ।
गाउँपालिकाका छ वटै वडामा कार्यक्रम सञ्चालनको लागि करिव रु ४० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए । यो कार्यको लागि गाउँपालिकाका प्रविधिकसँगै यहाँका विद्यालयमा कृषि विषय पढिरहेको विद्यार्थीलाई पारिश्रमिक दिएर परिचालन गरिने उनको भनाइ छ ।
